महेन्द्रनगर-'शुक्लाफाँटा घुम्न जाऔं' भन्ने नारा सहित आयोजना हुन लागेका शुक्लाफाँटा पर्यटन महोत्सव सफल बनाउन सबै स्थानीय तह एकजुट भएर लाग्ने भएका छन् । जिल्ला समन्वय समितिको आयोजनामा शुक्रबार कृष्णपुर नगरपालिकामा गरिएको सबै स्थानीय तहका प्रमुख र उप प्रमुखको बैठकमा महोत्सव सफल बनाउन सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
भीमदत्त नगरपालिकाको संयोजनकमा सबै स्थानीय तह र सरोकारावाला निकायले संयुक्त रुपमा चैत १५ देखि २१ गतेसम्म महोत्सव गर्न लागेका छन् ।बैठकमा शुक्लाफाँटा पर्यटन महोत्सव, स्थानीय तहको बजेट विनियोजन, आर्थिक स्रोत व्यवस्थापन, कर्मचारी व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्गले शुक्लाफाँटा पर्यटन महोत्सव शुक्दाफाँटामा पर्यटन प्रबर्द्धनका लागि महत्वपूर्ण भएकाले सबै स्थानीय तहले सहयोग गर्ने बताए ।
‘यो निर्कै महत्वपूर्ण महोत्सव हो, यसलाई सफल बनाउन सबैले लाग्ने निर्णय गरिएको छ, यसलाई सफल बनाउन सबै तहको प्रतिवद्धता आएको छ’ उनले भने । जिल्ला समन्वय समितिको अगसवाईमा विकास निर्माण सहित समसामयिक विषयमा स्थानीय तहका प्रमुख र उप -प्रमुख बिच मासिक रुपमा बैठक आयोजना हुँदै आएको छ ।
भीमदत्त नगरपालिकाबाट सुरु गरिएको बैठक यस अघि शुक्लाफाँटा र पुनर्वास नगरपालिकामा बसेको थियो । बैठककमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शुक्लाफाँटालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित सबै तहको आयोजनामा महोत्सव आयोजना गर्न लागिएको बताए ।
‘शुक्लाफाँटालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य सहित भीमदत्तको संयोजनमा सबै तहको आयोजनामा यो महोतसब हुन लागेको छ’ उनले भने,‘यसबाट शुक्लाफाँटाको प्रचारप्रसार भएर आन्तरिक र बाह्य पर्यटक आउने विश्वास लिएका छौ ।’नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजगर गरी शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएकाले शुक्लाफाँटा जाऔ भन्ने नारा सहित आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्जभित्र लगिने बताए ।
बैठकमा भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिह, बेदकोटका नगर उप प्रमुख सुशिला सिह, शुक्लाफाँटाका नगर उप प्रमुख तुलसी हमाल, कृष्णपुरका उप नगर प्रमुख रमिता राना, बेल्डाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा, उपाध्यक्ष कमला कार्की, लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायक, उपाध्यक्ष सत्यादेबी महरा, बेलौरी नगरपालिकाका नगर उप प्रमुख चित्रा चौधरी र पुनर्वास नगरपालिकाका नगर उप प्रमुख शारदा विष्ट सहभागी भएका छन् । अर्को बैठकमा बेल्डाँडी गाउँपालिकामा बस्ने निर्णय गरिएको छ ।