काठमान्डौ -विसं २०७७ असोज ९ मा निवर्तमान गृहमन्त्री रामबहादुर थापाले व्याँसको छाङ्गरुमा सशस्त्र प्रहरीको भवन निर्माण शिलान्यास गरे । भारतले धार्चुला हुँदै कैलाश मानसरोवर जोड्न भन्दै नेपाली भूगोल लिपुलेक हुँदै सडक निर्माणको उद्घाटन गरेपछि सरकारले ३१ वैशाखमा व्याँसमा सीमा सुरक्षार्थ सशस्त्र प्रहरी राख्ने निर्णय गरेको थियो । सुरुमा बोर्डर आउट पोष्ट राखेर राज्यले सीमा सुरक्षामा सरकार गम्भीर बनेको देखाएको हो ।
बोर्डर आउट पोष्ट राखिएको तीन महिनापछि २८ असारमा मन्त्रिपरिषद्को निर्णयअनुसार छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय गर्यो । सोही निर्णयअनुसार सदरमुकाम खलङ्गामा रहेको सशस्त्र प्रहरी बल नं ५० गुल्म छाङ्गरुमा स्थानान्तरण गरियो भने खलङ्गामा सशस्त्र प्रहरी बल नं ४४ गण स्थापना भयो ।
छाङ्गरुमा गुल्म नै स्थापना भएपछि सरकारले सशस्त्र प्रहरीलाई बाह्रैमास राख्ने निर्णय गर्यो । सो अनुसार एक वर्षभित्रै सशस्त्र प्रहरीको भवन निर्माण हुने भनियो । निर्माण व्यवसायी सुरेश चन्दले दुई महिनाभित्र भुइँतलाका २० कोठा र एक वर्षभित्र सुविधासम्पन्न ४० कोठे भवन निर्माण गर्ने बताए । तर निर्माण सुरु गरिएको नौ महिनासम्म व्याँसमा सशस्त्र प्रहरीको जग मात्रै हालिएको छ ।
'अहिले भवनको भुइँतलाको पिल्लरसम्म निर्माण पुगेको छ,' व्याँस गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, 'त्यो पनि चारैतिरबाट बनेको छैन । कुल १० करोड लागतमा भवन निर्माण भइरहेको छ ।'
सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि सशस्त्र प्रहरीलाई बाह्रै महिना त्यहाँ राखिएको हो । व्याँसमा सशस्त्र गएको एक वर्षभन्दा बढी हुँदा पनि सशस्त्र प्रहरी अहिले भाडाको घरमा बस्दै आएका छन् । भवन अभावले अहिले पनि जनशक्ति व्यवस्थापन गर्न समस्या भएको सुरक्षाकर्मी बताउँछन् । भवन निर्माण अझै पनि ढिलाइ भइरहेको छ । सशस्त्र प्रहरीका अनुसार यही गतिमा हो भने भवन निर्माण अझै एक वर्ष बढी लाग्न सक्छ ।
त्रिदेशीय सीमा क्षेत्र तिङ्करमा सशस्त्र प्रहरीको बिओपी निर्माणको काम अहिलेसम्म सुरु हुन सकेको छैन । असार मसान्तभित्रै निर्माण सक्ने गरी सम्झौता भएको बिओपी निर्माणको काम अझै सुरु भएको छैन । व्यास गाउँपालिका–१ को तिङ्कर गाउँभन्दा माथिको छायालेकमा सशस्त्र प्रहरीको बिओपी बनाउने तयारी गरिएको हो ।
चीनसँगको सीमा क्षेत्रको निगरानी गर्न सरकारले तिङ्करमा पनि सशस्त्र राख्न लागेको तर भवन दुवै ठाउँमा निर्माणमा ढिलाइ हुँदा यहाँ बस्ने सशस्त्र प्रहरीको मनोबल बढ्न नसकेको सुरक्षाकर्मी स्वयं बताउँछन् ।
तिङ्करमा छ महिनाभित्रै प्रिफ्याबको एङ्गलसहितको भवन निर्माण गर्ने सम्झौता हो । तर यो आर्थिक वर्षमा त्यो ठाउँमा भवन बन्ने सम्भावना छैन । सरकारले तिङ्करमा बोर्डर आउट पोष्ट बनाउनका लागि एक करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो । दुवै ठाउँका भवन निर्माणमा निर्माण व्यवसायीले चासो दिएको छैन । निर्माण व्यवयासीले भवन निर्माणमा चासो नदिँदा दुवै ठाउँमा ढिलाइ भएको हो ।
'एउटा चिसो मौसम भाडाकै भवनमा आगो तापेर काटियो, एक सुरक्षाकर्मीले भने, 'अर्को चिसोयाम आउँदासम्म भवन निर्माण हुने अवस्था देखिँदैन ।' गत कात्तिकयता यो ठाउँमा उच्च पदस्थले समेत भ्रमण गरेका छैनन् । सुरुमा खाद्यान्नलगायतका सामग्री सबै हेलिकोप्टरमार्फत ढुवानी गरियो । कात्तिकपछि हेलिकोप्टर आउनै छोडेको छ ।
'केही दिनअघि नेपाल प्रहरीको खाद्यान्न र बन्दोबस्ती हेलिकोप्टरमार्फत ढुवानी भयो, हाम्रो लागि अझै सरकारले हेरेको छैन' ती सुरक्षाकर्मीले भने । अहिलेसम्म भारतबाट खाद्यान्न ढुवानी गरेर खानुपर्ने बाध्यता छ । सरकारी उदासीनताले हामीलाई यो क्षेत्रमा काम गर्न निकै समस्या हुन थालेको छ । अहिले व्याँसमा रहेका सशस्त्र प्रहरीले व्यावहारिक रूपमा भारतबाटै खाद्यान्न ढुवानी गरेर खानुपर्ने अवस्था छ ।
यसैबीच प्रहरीले चिसोयाम कम हुँदै गएपछि आफ्नो क्षेत्रभित्र नियमित गस्ती गर्न थालेको छ । केही दिनअघि कालापानी नजिकैको क्षेत्रमा गस्तीमा निस्किएको सशस्त्र प्रहरी बुधबार तिङ्कर गाउँ पुगेको छ । छाङ्गरुबाट तिङ्कर पुग्न चार घण्टा बढी समय लाग्छ । 'नियमित गस्तीमा गएका हौँ', अर्का सुरक्षाकर्मीले भने, 'गाउँभन्दा माथि अहिले जाँदैनौँ । असार तिर नेपाल चीन सीमा बोर्डरसम्म जान्छौँ ।' रासस