अत्तरिया - कोरोनाको दोस्रो लहर तिब्र गतिमा बढेपछि यसको रोकथाम र नियन्त्रणका लागि देशभर जारी निषेधाज्ञा असार देखि खुकुलो हुने भएको छ ।
गृह मन्त्रालयले डेढ महिना देखी देशभर जारी गरिएको निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा गरिरहेको छ ।
समीक्षाको आधारमा असार देखि कसरी अघि बढ्ने भन्ने कुराको निर्णय हुने गृह मन्त्रलायका प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।
अहिले देशभरका जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको बताउदै उनले सबैको सुझाव सल्लहा आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने बताएका छन् । पछिल्लो केही दिन यता कोरोनाका संक्रमित थपिने भन्दा निको हुने दर दोब्बरले बढ्दै गएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ ।
आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ। कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्याङ्कल देखाएको छ ।
मंगलबार देशभर ५ हजार १५३ संक्रमित थपिएदा ६ हजार ५७० जनाले कोरोना जितेका थिए । कोरोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपाली भने त्यो गल्ती नदोहोरिने स्पष्ट पारे ।
उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैनन्। उनका अनुसार आवश्यकताका आधारमा विस्तारै खुकुलो पार्दै लगिने छ।