अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा आज पहिलो दिन ५ सय बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । नगरपालिका भित्र तोकिएको ३ ओटा खोप केन्द्रवाट ५ सय ४८ जनाले चीन सरकारबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप लगाएका हुन् ।
मालाखेती अस्पताल नजिकै रहेको नवज्योति स्कूलको खोप केन्द्रवाट सबै भन्दा बढीले खोप लगाएका छन् । त्यहाँ ३ सय ६२ जनाले खोप लगाएको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
त्यसपछि गेटा स्वास्थ्य चौकीवाट १ सय ७८ जना र गोदावरी स्वास्थ्य चौकीवाट ८ जनाले खोप लगाएको स्वास्थ्य शाखामा कार्यरत उषा भट्टले जानकारी दिइन् ।
सरकारले आजदेखी जेष्ठ नागरिक सहित पहिलो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउन सुरु गरेको हो । काठमाडौं उपत्यकामा ६० देखि ६४ वर्ष र उपत्यका बाहिरका जिल्लामा ६२ देखि ६४ उमेर समूहका जेष्ठ नागरिकहरुलाई खोप लगाइदै छ ।
गोदावरी नगरपालिका भित्रका ६० बर्ष देखि ६४ बर्ष उमेर समुहका जेष्ठ नागरिक, पहिले खोप नपाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, बैंकका कर्मचारीहरूलाई लगाइएको हो । आज देखी सुरु भएको खोप अभियान २७ गते सम्म ३ दिन लगाइने छ । खोप लगाउनका लागि जेष्ठ नागरिकहरु निकै उत्साहित देखिएका छन् ।
आज गोदावरी नगरपािलका ३ मा रहेको नवज्योति स्कूलमा खोप लगाउनेहरुको आज बिहानै देखी निकै भिड लागेको थियो । मालाखेती अस्पताल नजिकै रहेको उक्त बिधालयमा धेरै जसो जेष्ठ नागरिकहरु खोप लगाउनका लागि पुगेका हुन् ।