अत्तरिया - सुदूरपश्चिममा नेकपा एमाले भित्रको आन्तरिक लडाइँ चरम उत्कर्षमा पुगेको छ । केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबिच भएको आन्तरिक लडाइँ सुदूरपश्चिममा हातपातमा पुगेको छ ।
सुदूरपश्चिममा अध्यक्ष ओली र नेता नेपालका नेताहरुले एकअर्का माथि हातपात गरेको आरोप लगाएका छन् । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी र नेकपा एमालेका प्रदेश सचिव राजेन्द्र रावलले एक अर्कामाथि हातपात गरेको आरोप लगाएका हुन् ।
आज मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत माग्दा विपक्षमा मतदान गर्न निर्देशनसहित पार्टीको पत्र दिन रावल हिजो मन्त्रालयमा पुगेका थिए । त्यसक्रममा मन्त्री सोडारीले आफूमाथि हातपात गरेको प्रदेश सचिव रावलले बताएका छन् ।
उनले आफूलाई स्वकीय सचिव सहित सुरक्षाकर्मीले दुर्वयहार गर्दै धक्कामुक्का गरेर कार्यकक्षबाट बाहिर निकालेको बताए । त्यसबेला आफ्नो चश्मा, पर्स लगायतका सामानहरु समेत मन्त्रालयमै छुटेको उनको दाबी गरेका छन् ।
उनले मन्त्रीलाई कारवाही गर्न माग सहित आज प्रहरीमा उजुरी गरिने बताए । उता मन्त्री सोडारीको सचिवालयले भने प्रदेश सचिव रावलले मन्त्रालयमा जवरजस्ती घुसेर मन्त्रीमाथि दुर्व्यहार गरेको दाबी गरेको छ ।
‘कञ्चनपुर जिल्ला बस्ने राजेन्द्र रावलले मन्त्री ज्यूको कार्यकक्षमा प्रवेश गरी प्रदेशसभाको विषयमा कुरा गर्दै अभद्र व्यवहार गरेकोप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रीका स्वकीय सचिव ललितबहादुर बोहराले विज्ञप्ती जारी गर्दै रावलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
सोडारी माधवकुमार नेपाल पक्षबाट मन्त्री बनेका हुन् भने प्रदेश सचिव पार्टी अध्यक्ष केपी शर्मा ओली निकट हुन् ।
एमालेभित्र विवाद कायमै रहेका बेला आज मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिँदैछन् । माधव पक्षले उनको पक्षमा मत दिने तयारी गरेको छ ।