अत्तरिया - सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभामा विश्वासको मत लिदैछन् । प्रदेशसभा सचिवालयका अनुसार मंगलबार विहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनेछन् ।
मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वास मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । यसैक्रममा नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेशसभा संसदीय दलका नेता र सचेतकलाई मुख्यमन्त्रीको विपक्षमा मतदानका लागि सांसदहरुहलाई ह्वीप जारी गर्न निर्देशन दिएको छ ।
प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले दलका नेता प्रकाशबहादुर शाह र सचेतक दुर्गाकुमारी विकलाई पत्र लेखी पार्टीको स्थायी कमिटीको निर्णयअनुसार मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न निर्देशन दिएका हुन् ।
जेठ १० मा बसेको नेकपा एमालेको स्थायी कमिटिको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रदेश संसदीय दलको १२ जेठमा बसेको बैठकले तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
काग्रेसले भने यस बिषयमा कुनै निर्णय गरेको छैन । मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदा पक्ष वा विपक्षमा मत दिने भन्नेबारेमा कांग्रेस मंगलबार विहान ७ बजे बैठक बसेर निर्णय गर्ने संसदीय दलका नेता डा. रणबहादुर रावलले जानकारी दिए । सुदूरपश्चिममा हाल नेकपा एमालेमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ ।
५२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित २५ जना, माओवादी केन्द्रका १३ जना, नेपाली कांग्रेसका १२ जना र जनता समाजवादी पार्टीका २ जना प्रदेशसभा सदस्य रहेका छन् ।
विश्वासको मतका लागि मुख्यमन्त्रीलाई २७ जना प्रदेशसभा सदस्यको साथ चाहिन्छ । प्रदेशसभामा एमालेका २५ मध्ये माधवकुमार नेपाल पक्षका १८ जना जना छन् ।