कञ्चनपुर - सडक निर्माणको दोब्बर समय सकिन लाग्दा समेत कञ्चनपुरको हुलाकी सडक निर्माणको काम कछुवा गतिमा छ । यहाँको डोकेबजार देखि दैजी सम्म ६२ किलोमिटर हुलाकी सडक निर्माणका लागि २०७३ फागुनमा सम्झौता गरिएको थियो ।
हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका सूचना अधिकृत इञ्जिनियर पदमबहादुर मडैले तीस महीनाभित्र सक्नु पर्ने काम अहिले २५ किलोमिटर मात्रै कालोपत्र भएको बताए । तीन ओटा प्याकेजमा निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको ढिलासुस्ती र कोरोना कहरका कारण समयमा सम्पन्न हुन नसकेको हो ।
‘पटक पटक निर्माणका लागि सयम थप गर्दा पनि काम भएन’, इन्जिनियर मडैले भने, ‘अहिले पनि कोरोना अवधिमा रोकिएकाले ६ महीना म्याद थप गर्ने भनिएको छ तर माथिबाट परिपत्र आएको छैन ।’ कोरोनाको दोस्रो लहरमा थला परेको सडक निर्माण सरकारले निर्माणमा अवरोध नगर्ने भनेपछि पुनः शुरु हुने सुरसारमा छ ।
त्यसैगरी हुलाकी सडकको बीच खण्डमा पर्ने (बेलौरी–बेल्डाडी) बेलौरी नगरपालिका ८ पचुँइ क्षेत्रमा भने लामो समयदेखि भारतीय पक्षले एक हजार २०० मिटर सडक निर्माणमा अवरोध गर्दै आएको छ । इञ्जिनियर मडैका अनुसार पहुँइमा भारतीय पक्षले लामो समयदेखि सडक निर्माणमा अवरोध गर्दै आएपनि त्यसको अझै समाधान खोजिएको छैन् ।
‘त्यहाँ जिपिएस नक्साका माध्यमबाट सडक क्षेत्र भारतले आफ्नो दाबी गर्दै काम गर्न दिँदैन’, इञ्जिनियर मडैले भने, ‘स्थानीय प्रशासनले सो विषय दुई पक्षको संवादमा हल गर्नु आवश्यक छ ।’ भारतले त्यहाँ ३८ नं. सीमा स्तम्भलाई आधार मानेर विवाद गर्दै आएको स्थानीयको भनाइ छ ।
उक्त १ हजार २०० मिटर सडक निर्माण कम्पनीले कालोपत्र गर्ने तयारी गरिरहदा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको बताइएको छ ।
रू. १ अर्ब ९ करोड भन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न भए कञ्चनपुरको दक्षिण क्षेत्रका नागरिकहरुलाई आवागमनमा निकै सहज हुनेछ । रासस