अत्तरिया - टी–ट्वेन्टी विश्वकप खेल्ने नेपालको सपना अधरै रहेको छ । आउँदो वर्ष अस्ट्रेलियामा हुन ट्वेन्टी–ट्वेन्टी विश्वकप खेल्ने ग्लोबल छनौटमा स्थान बनाउनका लागि निर्णायक खेलमा पराजित भएसंगै नेपालको विश्वकप खेल्ने सपना अधरै रहेको हो ।
एसियाली क्षेत्रको छनौट अन्र्तगत नेपाल आयोजक सिंगापुरसंग ८२ रनले पराजित भएको छ । १९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर मात्रै १०९ रन मात्रै बनाउन सक्यो ।
नेपालका कप्तान पारस खड्का सुरुमै १२ रन बनाएर आउट भएपछि टिमलाई आजको खेल खेल्न निकै सकस परेको थियो । पारस खड्का आउट भएपछि आएका उपकप्तान ज्ञानेन्द्र मल्ल पनि खेलमा धेरै बेर टिक्न सकेनन् । यद्धपी उनले खेलका लागि महत्वपुर्ण ३९ रन बनाएका थिए । शरद भेषवाकरले मात्रै सात रन बनाउन सके ।
विनोद भण्डारी ९ रनमा आउट भए । यसअघि पहिले ब्याटिङ्ग गरेको सिंगापुरले ६ विकेटको क्षतिमा १९१ रन बनाएको थियो । उसका लागि टिम डेविडले सवाधिक ७७ रन बनाए । उनले ४३ बलमा ८ चौका र तीन छक्काको सहयोगमा ७७ रन बनाएका हुन् ।
यस्तै रोहन रंगराजनले ३३ बलमा तीन चौका र चार छक्काको सहयोगमा ४९ तथा मनप्रीत सिंहले २७ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४२ रन बनाए । नेपालका अविनाश बोहराले चार विकेट लिए ।
यस्तै करण केसीले दुई विकेट लिएका हुन् । अविनाशले सिंगापुरका सर्वा्धिक रनकर्ता टिम डेविडलाई ७७ रन बनाएको अवस्थामा आउट गरे । जितसँगै विजेताका रुपमा ग्लोबल छनौटमा सिंगापुरले आफ्नो स्थान सुरक्षित गरेको छ । एसियाली क्षेत्रको छनौटमा नेपाल, सिंगापुर, कतार, कुवेत र मलेसिया रहेका थिए ।