काठमाण्डौ - नारायणहिटी दरबार हत्याकाण्डको आज २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवार भित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुने गरी भएको हत्याकाण्डको आज २० वर्ष पूरा भएको हो ।
उक्त हत्याकाण्डको २ दशक पुग्दा समेत अझै पनि घटनाको सत्यतथ्य सार्वजनिक सकेको छैन ।
पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो ।
उच्च सुरक्षा घेरा भित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यमय नै रहेको छ ।
हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्च स्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोलीले उडाएको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो ।
तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।
प्रधानन्यायाधीश संयोजकत्वको समितिपछि उक्त घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । तर बेला बेलामा सरकारी तवरबाटै यसको छानविनको माग भने उठ्ने गरेको पाइन्छ ।
यद्यपि राजनीतिक प्रतिशोधका कारण यस्ता माग उठ्ने गरेको भए पनि यस हत्याकाण्डको सत्य घटना सार्वजनिक गर्नेतर्फ चासो दिने गरेको पाइँदैन ।