अत्तरिया - सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा यति बेला निषेधाज्ञा जारी रहेको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि संक्रमणलाई न्यूनिकरण गर्न कैलाली , कञ्चनपुर सहित ९ ओटै जिल्लामा एक पछि अर्को गर्दै निषेधाज्ञा जारी गरिएको हो ।
सुरुमा कैलाली कञ्चनपुरमा बैशाख १६ गतेवाट निषेधाज्ञा लागू गरिएकोमा पाहाडी जिल्लामा भने फरक फरक समयमा निषेधाज्ञा लागू गरिएको हो । निषेधाज्ञाका कारण सबै कुरा ठप्प रहेको छ । यसका कारण जनजिवन पनि प्रभावित भैसकेको छ ।
बिचमा केही समय संक्रमण र मृत्युदर एक्कासी अकालोमा पुगेपनि पछिल्ला दिनहरुमा भने बिस्तारै कम हुदै गएको छ । अहिले प्रदेशभर संक्रमण र मृत्युदर दुवैमा कमी आएको छ । यस्तो अबस्थामा व्यवस्थिति तरिकाले निषेधाज्ञा खोल्दै जान सकिने सुझावहरु दिन थालेका छन् ।
यहाँका चिकित्सकहरुले अब एकअर्का जिल्लाबीच भौतिक रुपले सम्पर्क नहुने गरी व्यवस्थिति तरिकाले निषेधाज्ञा खोल्दै जान सकिने सुझाव दिएका हुन् ।
निषेधाज्ञा पटक पटक गरेर लम्ब्याएकै कारण अहिले संक्रमण घटेको उनीहरुको भनाई छ । सेती प्रादेशिक अस्पतालका डाक्टर निराजनदत्त शर्मा पौडेल कोरोना संक्रमण कम हुनुको प्रमुख कारण निषेधाज्ञा नै भएको बताउँदछन् ।
अब अगामी दिनहरु कस्तो अबस्था आउँछ त्यो भन्न नसकिने बताउदै उनले अहिलेको जारी निषेधाज्ञालाई खोल्ने भए व्यवस्थित र वैज्ञानिक रुपले खोल्नुपर्ने बताए । तत्कालै एकअर्का जिल्लाबीच सम्पर्क नगराउने र आन्तरिक रुपमा खोल्न सके राम्रो हुन्छ उनले भने ।
कैलाली सहित प्रदेशका विभिन्न प्रयोगशालामार्फत यो एक हप्ताको अवधिमा १३ हजार २२२ जनाको परीक्षण गर्दा ५ हजार १८१ जनामा संक्रमण पुष्टि भएको थियो । यही अवधिमा ११३ जनाको मृत्यु भएको थियो ।