धनगढी -नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारका ६ मन्त्रीको स्पष्टीकरण नआएको भन्दै थप कार्बाहीको लागी स्थायी कमिटीलाई सिफारिस गरेको छ । प्रदेश कमिटीका सचिब राजेन्द्र सिं रावलले मन्त्रीहरुले पार्टीले सोधेको स्पष्टीकरणको जबाब समेत नदिएकाले उनिहरुलाई कार्बाही गर्न सिफारिस गरिएको बताए ।
'यो त अबज्ञा मात्रै होइन स्पष्टीकरण नदिनु त थप अबज्ञा भयो,' सचिब रावलले भने,' हामिले कार्बाहीको लागी केन्द्रमा सिफारिस गरेका छौं , भोली स्थायी कमिटीको बैठक छ कार्बाही हुन्छ होला।'
पार्टीको निर्णय बिपरीत सरकारमा सहभागी भएको भन्दै एमालेले भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशी, सामाजिक विकासमन्त्रीमा लालबहादुर खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी, सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला राज्यमन्त्री अर्चना गहतराजलाई आइतबार स्पष्टीकरण सोधेको थियो ।
यस्तै एमाले संसदिय दलकी सचेतक दुर्गाकुमारी कामीले पनि स्पष्टीकरण को जबाब नदिएकाले कार्बाहीको लागी सिफारिस गरीएको छ ।
एमाले सुदुरपश्चिम कमिटीले यसअघि नै संसदिय दलका नेता एबम प्रदेश सरकारका आर्थिक योजनामन्त्री प्रकाश शाह, पुर्व सामाजिक बिकास मन्त्री कृष्ण सुवेदी र उद्योग पर्यटन, बन तथा वातावरण मन्त्री माया भट्टलाई पार्टीबाट निष्काशनको सिफारिश गरिसकेको छ ।