काठमाण्डौ - नेपाल मानव अधिकार संगठनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा समग्र अनुसन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको आरोप लगाएको छ । संगठनले घटना भएको एक वर्षपछि पुनः उक्त घटनासँग सम्बन्धित सबै अनुसन्धान प्रतिवेदनहरु सार्वजनिक गराई प्रतिवेदनहरुले शंका गरेका सबैमाथि प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसमक्ष माग गरेको छ ।
हत्याकाण्डको एक वर्ष बित्दा पनि अझैसम्म दोषी पत्ता लगाउन नसकेकोे भन्दै नेपाल मानव अधिकार संगठनले सरकारको व्यवाहारप्रति आप्पत्ति जनाएको छ । शुक्रबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर उक्त संगठनले यस्तो आपत्ति जनाएको हो ।
संगठनका अध्यक्ष इन्द्र प्रसाद अर्यालले सरकारले घटनाको एक वर्ष हुँदै गर्दा ‘निर्मलाजस्ता काण्ड हिजोपनि भएका थिए र भोलिपनि हुँदै गर्छन्’ भन्ने गृहमन्त्रीको अभिव्यत्तिले देशमा कोही पनि सुरक्षित नरहेको बताए । संगठनले निर्मला पन्त बलात्कार हत्या घटनाको एक वर्ष खै न्याय ? भन्ने शीर्षकमा विज्ञप्ति पनि जारी गरेको छ ।
संगठनले उक्त घटनाले नेपालको प्रहरीको अनुसन्धान प्रक्रियाका कमजोरी र प्रहरीले गरेको श्रृंखलावद्ध गल्ती सतहमा आएको पनि ठोकुवा गरेको छ । जारी विज्ञप्तिमा भनिएको छ, “निर्मला पन्तको हत्याको पर्सिपल्ट २०७५ साउन १२ गतेपछि नै चरणवद्ध आन्दोलनहरु सुरु भए । आन्दोलनकै क्रममा बालक सन्नी खुनाको प्रहरीको गोली लागेर निधन भयो ।
दिलिप विष्ट, चन्द्रदेव बडु, हेमन्ती भट्ट, लक्ष्मी मल्ल, जीवन घर्तीमगर, दिपक नेगी, विशाल चौधरी, प्रदिप रावललगायतलाई यातना दिइयो ।” संगठनका अनुसार अहिलेसम्म उक्त आन्दोलनका क्रममा उमेश देउवा, अर्जुन भण्डारा, सुरेन्द्रबहादुर देउवालगायत २५ जना भन्दा बढी घाइते भएका छन् ।
निर्दोषलाई यातना दिई अपराध स्विकार गर्न लगाउने, जसलाई भेट्टायो उसैलाई शंका गर्ने र अपराध स्विकार गर्न लगाउने रवैया प्रहरी प्रशासनको रहेको पनि संगठनको निष्कर्ष रहेको छ । संगठनका अध्यक्ष अर्यालले निर्मला प्रकरणमा सरकारी रवैया सदैव विवादास्पद रहन गएको आरोप लगाए ।