अत्तरिया - सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा निषेधाज्ञा लम्बिदै गएको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमणको दर र मृत्युदर बढ्दै गएपछि त्यसलाई चेन ब्रेक गर्न बैशाख महिनादेखी जारी गरिएको निषेधाज्ञा एक पछि अहिले नौ वटै जिल्लामा निषेधाज्ञा लम्बिदै गएको हो ।
प्रदेशकै सबैभन्दा बढी जनघनत्व भएको जिल्ला कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा लम्बाइएको छ । गत वैशाख १६ गते पहिलो पटक स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको थियो ।
यस्तै कञ्चनपुरमा पनि जेठ २२ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ । कञ्चनपुरमा पनि पहिलो पटक वैशाख १६ गते निषेधाज्ञा जारी भएको थियो । यस्तै डोटी र डडेल्धुरा जिल्लामा जेठ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
यसअघि दुवै जिल्लामा शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । अछाम जिल्ला प्रशासन कार्यालयले जेठ २२ गतेसम्म निषेधाज्ञा थप गरेको छ । वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म पहिलो पटक निषेधाज्ञा जारी भएकोमा जेठ १२ गतेसम्म थप गरिएको थियो ।
यस्तै दार्चुला जेठ जेठ ९ गतेदेखि २० गतेसम्म निषेधाज्ञा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी दिएको छ । स्थानीय तहको अवस्था हेरी निषेधाज्ञा जारी गरेको दार्चुलाले संक्रमितको संख्या बढ्दै गएपछि जिल्लाभरीनै निषेधाज्ञा जारी गरेको थियो ।
बैतडीमा जेठ १७ गते राति १२ वजेसम्म निषेधाज्ञा रहनेछ । बझाङ जिल्लामा पनि जेठ १७ गतेसम्म निषेधाज्ञा रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद सुवेदीका अनुसार जिल्लामा संक्रमणको अवस्थामा खासै सुधार आउन नसकेको हुँदा निषेधाज्ञा लम्विन सक्नेछ । बाजुरामा जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा छ ।
जिल्ला बैशाख २२ गते पहिलो पटक निषेधाज्ञा जारी गरेको बाजुरा प्रशासनले जेठ १३ गते फेरी लम्व्याएको हो ।