महेन्द्रनगर - कञ्चनपुरको भीमदत्त–२ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष बितिसकेको छ । यसबीचमा सात अनुसन्धान टोली गठन, ८० जनाको डिएनए परीक्षण, पाँच सयभन्दा बढीलाई सोधपुछ र १० हजारभन्दा बढीको कल डिटेल अध्ययन भए पनि दोषी भने पत्ता लागेको छैन ।
गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार निर्मला पन्त प्रकरणमा सरकार असफल भएको स्वीकार गरे । विकसित देशमा समेत सबै घटनाका दोषी पत्ता नलागेको र यो घटनालाई धेरै राजनीतीकरण गरिएको आरोप उनले लगाए । तर, यो प्रकरणमा कहाँ–कहाँ कमजोरी भयो भनेर पत्ता लगाउने कामसमेत हुन सकेको छैन ।
छानबिनका क्रममा घटनास्थलदेखि ल्याबसम्म कमजोरी भएको विवरण आइसकेका छन् । अभियुक्त त पत्ता लागेनन् नै यो घटनाबाट सिकेर अझै सुधारको प्रयास भएको छैन । प्रहरीले ८० जनाको डिएनए परीक्षण गरे पनि कसैको मिलेको छैन । सोधपुछका क्रममा अपराध स्वीकार गरेका व्यक्तिको समेत डिएनए मेल खाएन ।
शंकाको घेरामा परेका सबैको परीक्षण भइसकेको छ । पक्राउ परिसकेकै व्यक्ति दोषी हुन सक्ने सम्भावना पनि छ । तर, प्रहरी त्यता फर्कन सक्ने अवस्थामा छैन । घटनाका प्रत्यक्षदर्शी नभएकाले अभियुक्तले साबिती दिएको अवस्थामा बाहेक प्रहरीसँग कुनै बलियो प्रमाण छैन ।
विज्ञ भन्छन् – डिएनएबाट दोषी पत्ता लगाउन कठिन छ
निर्मला प्रकरणमा डिएनएलाई अचुक अस्त्रका रूपमा हेरिँदै आएको छ । तर, निर्मलाको भजाइनल स्वाबबाट निकालिएको नमुनाबाट डिएनए परीक्षण गरी अभियुक्त पत्ता लगाउन असम्भव रहेको विज्ञहरू बताउँछन् । नमुना संकलन र परीक्षणमा प्रहरीको गल्तीले गर्दा यो अवस्था आएको उनीहरूको भनाइ छ ।
प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले वाई–एसटिआई विधिबाट डिएनए परीक्षण गरेको थियो । यो विधि खासगरी वंश पत्ता लगाउन प्रयोग गरिन्छ । व्यक्ति पहिचान गर्ने अटोजोमल प्रविधिबाट परीक्षण हुन नसक्दा निर्मला हत्याका अभियुक्त पत्ता लगाउन कठिन हुने राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका डिएनएविज्ञ दिनेश झा बताउँछन् । ‘वाई–एसटिआरबाट कुनै पनि व्यक्तिको पुस्ता मात्र पत्ता लाग्छ,’ झा भन्छन्, ‘त्यसकारण त्यो प्रविधिबाट बलात्कार गर्ने पुस्तासम्म प्रहरी जान सक्छ, ठ्याक्कै व्यक्तिसँग डिएनए मेल खाँदैन ।’
प्रहरीले निर्मलाको शरीरबाट संकलन गरेको बलात्कारीको वीर्यको नमुना जोगाउन नसक्दा यस्तो अवस्था आएको हो । वाई–एसटिआर प्रविधिबाट डिएनए परीक्षण गर्ने क्रममा धेरै नमुना नष्ट भएकाले अटोजोमल प्रविधिबाट पुनः परीक्षण गर्न अब सम्भव छैन । त्यसैले दोषी पत्ता लगाउने एउटै आशा पनि कमजोर बनेको छ ।
‘यदि प्रहरीले भजाइनल स्वाबबाट सुरुमै वीर्य मात्र छुट्याएको हुन्थ्यो भने अटोजोमल प्रविधिबाट परीक्षण सम्भव थियो,’ राष्ट्रिय विधिविज्ञान प्रयोगशालाका पूर्वकार्यकारी निर्देशक जीवन रिजाल भन्छन्, ‘वाई–एसटिआर विधिबाट परीक्षण गर्दा नमुना नष्ट हुँदा यो घटना जटिल बनेको छ ।’ प्रहरीले भने अटोजोमल प्रविधिबाट पनि परीक्षणको प्रयास गरेको, तर नमुना पर्याप्त नहुँदा नतिजा आउन नसकेको जनाएको छ । ‘अटोजोमल प्रविधिबाट परीक्षणका लागि शंकास्पद व्यक्तिको डिएनएको मात्रा नमुनामा १र१० हुनुपर्छ, मात्रा नपुगकाले नै निर्मलाको केसमा अटोजोमल प्रविधि प्रयोग हुन नसकेको हो,’ केन्द्रीय विधिविज्ञान प्रयोगशालामा कार्यरत एक प्रहरी अधिकारी भने ।
प्रहरीले गरेको नमुना संकलनमा राष्ट्रिय मानवअधिकार आयोगले समेत प्रश्न उठाएको छ । नमुना संकलन तथा ल्याबमा ध्यान पु¥याउन नसक्दा नमुनामा असर पुग्न सक्ने र गलत नजिता आउन सक्ने विज्ञ रिजाल बताउँछन् । ‘डिएनए परीक्षण एकदमै संवेदनशील विधि हो,’ उनी भन्छन्, ‘सानो त्रुटिले धेरै गडबड हुन सक्छ, यसमा पनि कतै त्रुटि भएको हुन सक्छ ।’
आइजिपीदेखि प्रधानमन्त्रीसम्मको गैर जिम्मेवारीपन
प्रहरी महानिरीक्षकदेखि प्रधानमन्त्रीसम्मको कमजोरीले निर्मला प्रकरण अझ विवादित बन्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलाको शव मेयरको आँगनमा राखेर आन्दोलन गरेको भन्दै एक टेलिभिजन कार्यक्रमा आक्रोश पोखेका थिए ।
जब कि मेयरको घरमा शव लगिएकै थिएन । प्रधानमन्त्रीले नै झुटो आरोप लगाएपछि स्थानीयहरू थप आक्रोशित भए । त्यस्तै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शंकास्पद व्यक्तिको पक्राउलाई दोषी पत्ता लगाएको भनेर संसद्मा गलत दाबी गरे । प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गर्दा उपपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले अभियुक्तहरू पक्राउ परिसकेको भनेर भाषण गरे ।
तर, उनीहरूको संलग्नता देखिएन । तीन सातासम्म थुनामा राखेर अनुसन्धान गरियो, तर डिएनए नमिलेपछि उनीहरू छुटे । आफूहरूलाई यातना दिएको भन्दै उनीहरूले समेत प्रहरीविरुद्ध मुद्दा हाल्ने प्रयास गरेका थिए । एकातर्फ अनुसन्धानमा सही निर्देशन दिन नसक्नु र अर्काेतर्फ बयानमुखी अनुसन्धानलाई जोड दिँदा आइजिपी खनाल पनि विवादमा मुछिए ।
निर्मला प्रकरणबाट प्रहरीको अनुसन्धान विश्वासको संकटमा र्पयो । प्रहरीले नक्कली अभियुक्त खडा गर्छ भन्ने सन्देश आममानिससम्म गएको छ । तैपनि प्रहरीले अपराध अनुसन्धान प्रणालीलाई थप व्यवस्थित बनाउने पहल गरेको छैन ।
सर्वाेच्च अदालतको फैसला– डिएनए शतप्रतिशत सत्य हुन्छ भन्ने मान्न सकिन्न
सर्वाेच्च अदालतले डिएनए रिपोर्ट शतप्रतिशत सत्य हुन्छ भन्न नसकिने फैसला गरेको छ । अशंसम्बन्धी मुद्दाको फैसलामा माघ ०७३ मा न्यायाधीश दीपकुमार कार्की, केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको इजलासले यस्तो फैसला गरेको थियो । लक्ष्मी श्रेष्ठको अंश मुद्दामा सर्वाेच्चको फैसलामा भनिएको छ, ‘विशेषज्ञको रायको महत्व राख्ने डिएनए परीक्षण प्रतिवेदनले निश्चयात्मक सबुतको स्थान ग्रहण गर्न भने नसक्ने पनि हुन सक्छ ।
विशेषज्ञको राय न्यायकर्तालाई न्यायिक निष्कर्ष निकाल्न सघाउ र्पुयाउने एउटा माध्यम पनि हो । अन्य प्रत्यक्ष तथा विश्वास गर्नलायक प्रमाणको शृंखलाले डिएनए परीक्षण प्रतिवेदनको प्रतिकूल निष्कर्ष निकाल्छन् भने न्यायकर्ताले यी प्रमाणको शृंखलाका आधारमा उपयुक्त धारणा बनाउन सक्ने र संसारमा कुनै पनि कुरा निरपेक्ष हुँदैन भने डिएनए परीक्षण प्रतिवेदन शतशप्रतिशत सत्य हुन्छ भनेर मान्न नसकिने पनि हुन सक्छ ।
परीक्षण गर्ने संयन्त्र, वातावरण, समय र साधनले यो परीक्षणलाई प्रभाव पार्दै पार्दैन भन्ने ठान्नु उचित नहुने ।’
सोही नजिरलाई टेकेर ललितपुरको गोदामचौर घटनाका अभियुक्तलाई जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।
अनेक अनुसन्धान टोली, परिणाम शून्य
घटनाको अनुसन्धानका लागि केन्द्रबाट कम्तीमा सातवटा टोली खटिए पनि कुनै निष्कर्ष निस्किएन । सुरुमा डिएसपी अंगुर जिसीको नेतृत्वमा टोली खटिएको थियो । जसले दिलीपसिंह विष्टलाई अभियुक्त बनाएपछि प्रहरी संकटमा फसेको थियो । सो टोलीलाई फर्काएर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का तत्कालीन एसएसपी ठाकुर ज्ञवाली नेतृत्वको टोली प्राविधिक रूपमा अनुसन्धानका लागि खटिएको थियो ।
प्रहरी प्रधान कार्यालयबाट एसपी दुर्गा सिंह नेतृत्वको अर्काे टोली पनि कञ्चनपुरमा खटियो । यी दुवै टोलीले पनि प्रगति हात पार्न सकेनन् । त्यसपछि डिएसपी कमल थापाको नेतृत्वमा टोली खटियो । त्यही टोलीले प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी काठमाडौं ल्याएको थियो । तर, उनीहरू पनि निर्दोष देखिए । निर्दाेषलाई पक्राउ गरिएको भन्दै प्रहरी झन् विवादमा र्पयो ।
त्यो टोली पनि फिर्ता भयो । त्यसपछि सिआइबीका तत्कालीन एसपी सुदीप गिरी नेतृत्वको टोली खटियो । जसमा अपराध महाशाखाका प्रहरी पनि सामेल थिए । त्यो टोलीले तस्करीको सुन बरामद र्गयो, तर निर्मलाका हत्यारा पत्ता लगाउन सकेन । अहिले पनि इन्स्पेक्टरको नेतृत्वमा सिआइबीबाट एक टोली कञ्चनपुरमा खटिएको छ ।
यसबाहेक प्रहरीबाट भएका कमजोरी पत्ता लगाउन अन्य तीन टोली गठन भए । गृह मन्त्रालयले सुरुमा सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन र्गयो । त्यसले पनि अनुसन्धानलाई कुनै सहयोग भएन । पछि प्रहरीबाट एआइजी धीरु बस्नेतको नेतृत्वमा अर्काे छानबिन टोली गठन भएको थियो । त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगले पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्र पाठकको संयोजकत्वमा टोली खटाइएको थियो ।
अहिलेसम्म प्रहरीले पाँच सयभन्दा धेरैलाई सोधपुछ र १० हजारभन्दा धेरै कल डिटेलको अध्ययन गरिसकेको छ । यतिञ्जेल कुनै सुराक हात नपरे पनि प्रहरी भने अझै आशावादी छ । ‘वर्षौँपछि पनि नेपाल प्रहरीले ठूला घटनाका अभियुक्त पक्राउ गरेको छ,’ प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल भन्छन्, ‘यो घटनामा पनि अनुसन्धान सफल हुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।’
आठ प्रहरीविरुद्ध मुद्दा, १० माथि विभागीय कारबाही
यो प्रकरण अनुसन्धानमा प्रमाण नष्ट गरेको तथा निर्दाेषलाई यातना दिएको अभियोगमा आठ प्रहरी मुद्दा खेपिरहेका छन् ।
सेवाबाट हटाइएका एसपी दिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, इन्स्पेक्टर एकेन्द्र खड्का, सइहरू रामसिंह धामी, हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसुर मुद्दा दायर भएको छ ।
निर्मलाको सम्झनामा चिल्ड्रेन पार्क
सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत निर्मला पन्तको सम्झनामा विद्यालयकै प्रांगणमा चिल्ड्रेन पार्क निर्माण भइरहेको छ । भीमदत्त २ का वडाध्यक्ष डम्बर कार्कीले निर्मलाको सम्झनामा गत आर्थिक वर्ष ०७५र७६ देखि चिल्डे«न पार्क निर्माण भइरहेको बताए ।
उनका अनुसार दुई कट्ठा जमिनमा पर्खाल निर्माण गरिएको छ । यस वर्षदेखि पार्क निर्माणको काम सुरु हुने अध्यक्ष कार्कीले बताए । पार्क्भित्र बालबालिकाको मनोरञ्जनका साधन राखिने छन् । सभार - नयाँ पत्रिका