टिकापुर - कैलालीको टिकापुर सामुदायिक विद्यालयले छात्रालाई महीनावारी भएका बेला आवश्यक पर्ने प्याडको विद्यालयमै व्यवस्था गरेपछि छात्राको नतिजामा सुधार आएको छ । महीनावारीका बेला आवश्यक प्याड अभावमा धेरै छात्राले कक्षा छाडेर बिचमै घर जाने गर्दर्थे । छात्रा कक्षा छाड्ने दर घटेपछि छात्राको नतिजामा सुधार आएको विद्यालय प्रशासनको भनाइ छ ।
कैलालीको टीकापुर स्थित सरस्वती मावि वनगाउँका प्रधानाध्यापक खगेन्द्र घर्तीमगरले अनुसार विद्यालयमै प्याड वितरण हुन थालेपछि छात्र भन्दा छात्राको नतिजा राम्रो आएको छ । सरस्वती माविमा कक्षामा प्रथम, द्वितीय, तृतीय हुनेमा छात्रा नै अगाडि रहेका छन् । छात्र करीब ३० प्रतिशत मात्र उनीहरुको प्रतिस्पर्धामा रहेका छन् ।
प्रअ मगरले ६ कक्षा माथि प्रथम, द्वितीय, तृतीय सबमौ छात्रा नै अगाडी आइरहेको बताए । सरस्वती माविले दुई वर्षदेखि महीनावारीका बेला छात्रालाई आवश्यक प्याड विद्यालयमै पाउने व्यवस्था गरेको छ ।
प्रधानाध्यापक घर्तीमगर पाँच रुपैयामा प्याड उपलब्ध गराउने गरेको बताउनुभयो । निःशुल्क उपलब्ध गराउने चाहना भएपनि आर्थिक भार व्यहोर्न नसकिने भएकाले पाँच रुपैया लिने गरेको भन्दै उहाले टाउको दुख्यो भन्दै घर जाने छात्राहरु ऋहिले भने प्याड किनेर पूरै कक्षा पढ्ने गरेको बताए ।
त्यस्तै कर्णाली मावि टीकापुरमा समेत विद्यालयमै प्याड वितरण थालेपछि विद्यालयमा छात्राको उपस्थिति बढेको छ । कर्णाली माविका प्रधानाध्यापक धर्मराज शर्मा विगतमा महीनामा चार÷पाँच दिन कक्षा छाड्ने किशोरी नियमित विद्यालय आउन थालेको बताउँछन् ।
प्रअ शर्माले आफ्नो विद्यालयमा किशोर–किशोरीमैत्री स्वास्थ्य कार्यक्रम लागू भएकाले किशोर–किशोरी आफ्ना समस्याबारे खुलेर छलफल गर्ने बताए । टीकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले नगरपालिकाले यस वर्ष सामुदायिक विद्यालयमा प्याड व्यवस्थापनका लागि रकम छुट्याएको बताए ।
प्याड व्यवस्थापनका लागि नगरपालिकाले १० लाख रकम छुट्याएको बताए । चौधरीले विद्यालयमा छात्राको उपस्थिति बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । सरकारले पनि सबै सामुदायिक विद्यालयमा निःशुल्क प्याडको व्यवस्था गर्ने घोषणा गरेको छ ।