अत्तरिया - आज २५६५ औं बुद्ध जयन्ती । विश्वभरका बौद्ध धर्मावलम्बीहरूले बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष पनि कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम विना नै मनाइँदैछ ।
भगवान बुद्धको जन्म, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्माण समेत वैशाख पूर्णिमाकै दिन भएकोले बौद्धमार्गीहरूले यस दिनलाई विशेष पर्वको रूपमा मान्ने गर्छन् ।
यसदिन बुद्धको जन्मस्थान लुम्बिनी लगायत सबै बौद्ध स्तुपाहरूमा विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्थ्यो ।
तर कोरोनाका कारण यसवर्ष लुम्बिनीमा समेत दीप प्रज्वलनबाहेकका अन्य विशेष कार्यक्रमहरू नहुने भएको छ ।
यस वर्ष लुम्बिनीमा २५६५ वटा दीप प्रज्ज्वलन र परित्राण पाठ गरेर सामान्य रुपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।
विश्वले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको भन्दै उनले बुद्धजयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटामा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन् ।