अत्तरिया - सुदूरपश्चिममा तरकारीको मूल्य आकाशिए पछि सर्वसाधारण उपभोक्ताहरु मारमा परेका छन् । पछिल्लो दुई हप्तायता तरकारीको मुल्य बजारमा छोइनसक्नु हुदा सबैभन्दा बढि निम्न आय स्तर भएका उपभोक्ताहरु मारमा परेका हुन् । दुई हप्ता अघि सम्म प्रतिकिलो ८० पर्ने भिन्डी अहिले १०० पुगेको छ भने सिमी ६० बाट ९० पुगेको छ ।
यस्तै मूल्य बढेर नयाँ आलु ५५, पुरानो आलु ३५, प्याज ६०, लौका ७०, तानेबोडी १४०, काउली १२०, भेडेखुर्सानी १२०, हरियो तरकारी सानो मुठाको २५, गोलभेँडा १२०, हरियो खुर्सानी १०० पुगेको छ । सागसब्जीको चर्को मूल्यवृद्धिसँगै यसको कारोवार किलोमा भन्दा पाउको हिसाबमा गर्ने गरिएको छ । अरु महीनाको भन्दा वर्षायाममा साग तरकारीको मूल्यवृद्धि हुने गर्छ । तरकारीमा भएको मूल्यवृद्धि सँगै विपन्न परिवारमा साँझ बिहान के तरकारी खाने भन्ने चिन्ता बढेको छ ।
यस वर्षको वर्षामा अचाक्ली ढङ्गले मूल्यवृद्धि भएको अर्का उपभोक्ता केशव जोशीले बताए । मूल्यवृद्धि अस्वभाविक ढङ्गले बढ्दै गएको भए पनि यसको अनुगनम गरी मूल्य नियन्त्रण गर्ने तर्फ कसैको पहल नगरेको आम उपभोक्ताहरुको गुनासो गरेका छन् ।
साग तरकारी उत्पादक किसानले उचित मूल्य पाउन नसकेका र भाउ बिचौलियाको नियन्त्रणमा रहेको बताउदै स्थानीय उपभोक्ता जीवन धामीले मूल्य आकाशिँदासम्म पनि यसको भाउ नियन्त्रण गर्ने तर्फ कसैको चासो नगएको बताए ।
यतिबेला कैलाली, कञ्चनपुरका तरकारी बजारमा कारोवार भइरहेको ‘फुट्की’को मूल्य सुन्दा पत्यार नलाग्न सक्छ । बजारमा फुट्की प्रतिकिलो ७०० देखि ८०० मा कारोवार भएको छ ।
‘असार महीनामा फुट्की प्रतिकिलो रु एक हजारसम्ममा बिक्री भएको देखियो’, स्थानीय रामदिन रानाले भने, ‘केही दिनयता भने यसको मूल्य घट्दै गएको छ ।’ मूल्य चर्को भए पनि यसको स्वाद लिएका पारखीहरु फुट्की खोज्दै हिँड्ने गरेको देखिन्छन् । उखरमाउलो गर्मी बढेको समयमा जङ्गलको माटोमा डल्लो आकारमा पाउने फुट्की एक प्रकारको च्याउ हो । यो निकै पौष्टिक र स्वादिलो हुने गरेको खान पल्केका पारखीहरुको भनाइ छ ।