डडेल्धुर - डडेल्धुरमा नेपाली कांग्रेसको आन्तरिक विवाद झन झन बढ्दै गएको छ । नेपाल महिला संघको केन्द्रीय समितिबाट गत असार महिनाको तेस्रो साता एक्कासी संघको जिल्ला कार्यसमितिलाई विघटन गरी तत्कालीन उपाध्यक्ष कलावती बोहराको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको एकपक्षीय रुपमा पत्राचार गरिए पछि पार्टीमा आन्तरिक विवाद बढ्दै गएको थियो ।
अझै त्यसमा पनि बुधवार पार्टी कार्यालय डडेल्धुरामा मासिक बैठक चलिरहेका बेला कार्यालय सचिव रामवहादुर विष्टले महिला नेतृहरुमाथि हातपात गरेपछि अहिले पार्टीको विवाद झनै बढेको हो । नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा प्रदेश सांसद कर्णबहादुर मल्लका स्वकीय सचिव समेत रहेका बिष्टको कुटपिटबाट महिला संघ डडेल्धुराकी नेतृ बसन्ती भण्डारी घाइते भएको महिला नेतृ सरस्वती खड्काले जानकारी दिइन् । घटनापछि अहिले सम्म सात वटा विज्ञप्ती निकालिएको छ ।
सात वटा विज्ञप्ती मध्ये चार वटा विज्ञप्तीमा महिलाहरुले पार्टी कार्यालयमा तोडफोड गरिएको भन्दै आपत्ती जनाईएको छ भने तीन वटा विज्ञप्तीमा महिलाहरुमाथि कुटपिट भएको भन्दै आपत्ती जनाईएको छ । कांग्रेस कार्यालयमा भएको भौतिक संरचना तोडफोडप्रति तरुण दलले घोर आपत्ति जनाएको छ । बिहीबार नेपाल तरुण दल डडेल्धुराका अध्यक्ष शेरबहादुर साउँदले पनि एक प्रेस विज्ञप्ति जारी गर्दै तोडफोडको घटनाप्रति आपत्ति जनाएका हुन् ।
ताला तोडी कार्यालयमा तोडफोड गरी महत्वपूर्ण कागजात समेत नष्ट गरेको घटनाप्रति नेपाल किसान संघ डडेल्धुराले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आजै नेपाल किसान संघका अध्यक्ष धनबहादुर साउँदले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको कडा शब्दमा निन्दा गरेका हुन् । कार्यालयमा तोडफोड गरी महत्वपूर्ण कागजात समेत नष्ट गरेको घटनाप्रति नेपाल महिला संघ डडेल्धुराले पनि ध्यानाकर्षण भएको जनाएको छ । यस्तै बिहीबार नै नेपाल महिला संघ डडेल्धुराका अध्यक्ष कमला विष्टले एक प्रेस विज्ञप्ति जारी गर्दै तोडफोडको घटनाप्रति आपत्ति जनाएकी हुन् ।
उता नेपाली कांग्रेस डडेल्धुराले साउन ७ गते पार्टी कार्यालयमा तोडफोड गरी महत्पूर्ण कामजात समेत नष्ट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस डडेल्धुराका कार्यवाहक पार्टी सभापति करुणाकर भट्टले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । ‘पार्टी र संगठनको गरिमा घट्ने गरी नेपाल महिला संघ डडेल्धुराका नामले गरीका यस्ता अनुशासनहीन गतिविधिको नेपाली कांग्रेस डडेल्धुरा घोर भत्सर्ना गर्दछ ।
नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले अनवरत रुपमा विगत पाँच वर्षदेखि काम गर्दै आइरहेको जिल्ला कार्यसमितिलाई जबरजस्त विवादस्पत बनाइ पार्टीसँगको समन्वय र सहकार्य परामर्सलाई समेत लत्याएको छ । कार्यवाहक पार्टी सभापति भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । पार्टी सभापति बाहिर भएको बेला कार्यालयमा भएको विवाद मिलाउन घटना घटेर प्रहरी प्रशासनको समेत उपस्थिति भइसकेपछि मात्र कार्यालय पुगेका पार्टीका नेताहरुको समेत नाम छोडेर जुन एक पक्षीय दोषारोपण हुने गरी विज्ञाप्ति जारी कांग्रेस डडेल्धुराको भनाइ छ ।
पार्टी भित्र चरम गुटबन्दी गर्ने भातृ संगठनको नाममा आफ्नो मातृपार्टीको गरिमा गिराउने किसिमका अनुशासनहीन काम नगर्न÷नगराउन यस्ता क्रियाकपालमा संलग्न महिला दिदीबहिनीलाई सचेत गराउँदै पार्टीको अनुशासन र मर्यादाभित्र नबस्ने जोसुकैलाई पनि अनुशासनको कारबाही अगाडि बढाउने विज्ञाप्ति मार्फत चेतावनी दिइएको छ ।