काठमाण्डौ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली संविधान समाप्त पार्न उद्दत रहेको बताएका छन् । शनिबार विज्ञप्ति जारी गरी देउवाले राष्ट्रपति र प्रधानमन्त्री पदको चरम दुरुपयोग गरेर संविधान समाप्त गर्न उद्दत रहेकाले त्यसविरुद्ध एकजुट भएर लड्न आह्वान गरेका छन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि सबै लोकतन्त्रवादी शक्तिलाई एकजुट भएर लाग्न आह्वान गरेका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने दृढ प्रतिवद्धता व्यक्त गर्दछु,’उनले भनेका छन् ।
‘नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा त्यसलाई इन्कार गर्नुभयो,’ उनले भनेका छन्, ‘बरु एक पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन् ।’
देउवाले नेपालको संविधानको अक्षर र भावना अनुसार ओलीले प्रधानमन्त्रीका लागि दाबी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै गैर संवैधानिक दाबीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक र अनैतिक भएको पनि बताएका छन् ।
उनले राष्ट्रपति र प्रधानमन्त्रीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको पनि आरोप लगाएका छन् ।
‘राष्ट्रपति र प्रधानमन्त्रीको वदनियतपूर्ण ढंगले मिलोमतोमा षड्यन्त्रपूर्वक भएका छन् भन्ने तथ्य प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा सबै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधिसभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको छ,’ देउवाले भनेका छन् ।
![](https://www.godawarinews.com/uploads/editor/deubaa%20apil.jpg)
![](https://www.godawarinews.com/uploads/editor/deubaa%20apil%201.jpg)