अत्तरिया - लगातारको वर्षाले सदूरपश्चिममा लाखौको क्षति गरेको छ।
निरन्तरको वर्षाले कञ्चनपुरको महाकाली नदीमा पानीको बहाव बढेपछि निर्माणाधीन ४ लेन पुलको काम प्रभावित भएको छ। २ दिनको लगातार वर्षाका कारण नदीमा पानीको बहाव बढ्दा पुल निर्माणको कार्य प्रभावित भएको हो।
भीमदत्त नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष लालबहादुर शाहीका अनुसार नदीमा पानीको बहाव बढ्दा निर्माण कम्पनीले पुलमा कालोपत्रे गर्न बनाएको प्लान्ट, कालोपत्रे गर्ने मेसिनसहितका उपकरण बगाएको छ। जसबाट करोडभन्दा बढीको क्षति भएको वडाअध्यक्ष शाहीले बताए।
करिब ७५ प्रतिशत काम पूरा भइसकेको पुल निर्माणको कार्य प्रभावित भएको छ।
यस्तै लगातारको अविरल वर्षासँगै आएको बाढीले डडेल्धुरामा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ।
जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ र नवदुर्गा गाउँपालिका–३ लाई जोड्ने लमखेती गाडको सकाइल खण्डमा सडक विभागले निर्माण गरिरहेको पुलबुधबारदेखि परिरहेको वर्षासँगै आएको बाढीले बगाएको हो।
सकाइल हुँदै नवदुर्गा गाउँपालिकाको डाँणा वन जोड्ने सडकखण्डको लमखेती गाडमा निर्माण भइरहेको पुल बगाएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए।
पाँच करोड ५२ लाखमा ठेक्का पाएको राजेन्द्र चाँदनी जेभीले पुल निर्माणको काम गरिरहेको थियो।
शुक्रबार पुलको ढलान गर्ने तयारी समेत गरिएको थियो।