काठमान्डौ -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमण रोकथाम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएकाले तत्काल आम जनतालाई खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् ।
देउवाले तेस्रो चरणको संक्रमणबाट सुरक्षित राख्न आमजनतालाई तत्काल खोप लगाउने व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।
सभापति देउवाले खोप ल्याउन कूटनीतिक पहल तीव्र पार्न पनि सरकारलाई आग्रह गरेका छन् । यस्तै, खोप आपूर्ति गर्ने व्यवस्था विचौलियारहित र पारदर्शी ढंगबाट गर्न पनि देउवाले माग गरेका छन् ।
यस्तै, सभापति देउवाले पहिलो चरणमा स्वास्थ्य सामग्री आपूर्तिमा देखिएको अनियमितता, भ्रष्टाचार तथा अहिले भ्याक्सिन आपूर्तिमा देखिएको कमिसनतन्त्रको स्वतन्त्र रूपमा छानबिन गर्ने वातावरण बनाउन पनि माग गरेका छन् ।
देउवाले अहिले अस्पतालमा अक्सिजनको चरम अभाव हटाउन अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन प्लान्ट र अक्सिजन सिलिण्डरको तत्काल आपूर्ति गरेर वितरण गर्न पनि आग्रह गरेका छन् ।
सभापति देउवाले सबै जिल्लामा आवश्यकताअनुसार अस्पताल बेड, अक्सिजन, आईसीयू र भेन्टिलेटरसहितको अस्पताल तथा स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।