काठमान्डौ -प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यमा गृहमन्त्री रामबहादुर थापा बादललाई विजयी गराउन अपिल गरेका छन् ।
बुधबार अपिल जारी गर्दै अध्यक्ष ओलीले भोलि (बिहीबार) हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा बादललाई अत्यधिक मतले विजयी गराउन अपिल गरेका हुन् ।
‘एकतावद्ध सङ्कल्प र सफलताले पार्टी एकतालाई नयाँ उचाइमा पुर्याउने भएकाले बादललाई सूर्य चिह्नमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान गर्दछु,’ उनले भनेका छन् ।
‘निर्वाचनले हाम्रो पार्टीको सामर्थ्य, एकता र अनुशासनलाई त स्थापित गर्ने नै छ, सँगसँगै ३ जेठ २०७५ मा एकीकरण भएको, तर कतिपय नेताका अवसरवादी एवं विभाजनकारी व्यवहारका कारण भङ्ग नेकपाको विरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्नेछ,’ उनले भनेका छन् ।
ओलीले पार्टीभित्र देखा परेका समस्याको समाधान गरी पार्टीलाई एकतावद्ध बनाउन कार्यदल गठन गरेर काम सुरु भइसकेकाले पार्टी एकतालाई सुदृढ गर्नु सबैको कर्तव्य भएको बताएका छन् ।
उनले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिनु, लाखौँ जनताको हृदयमा रहेको निर्वाचन चिह्नलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने कुरा स्वीकार्य या क्षम्य हुन नसक्ने पनि चेतावनी दिएका छन् ।