अत्तरिया - कैलालीको गोदावरी नगरपालिकाका नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको छ । नगरपालिकाको वडा नं १ र २ मा पर्ने अत्तरिया बजार क्षेत्र आसपासका गाउँ टोल बढी जोखिममा रहेका छन् ।
अहिले दोस्रो लहरको कोरोना नगरपालिका भित्र समुदाय स्तरमा फैलिसकेको छ । नयाँ मौसमले पनि होला अहिले यस क्षेत्रका हरेक गाउँ घरमा ज्वरो आउने , टाउको दुख्ने , हात खुट्टा दुख्ने लगाएतका बिरामीहरु बढ्न थालेका छन् ।
यसरी सर्वसाधारणहरुमा बिभिन्न खाले लक्षणहरु देखिन थालेपछि कोरोनाको शंकामै सबैले धमाधम कोरोना परीक्षण गरिरहेका छन् । अहिले गोदावरी नगरपालिकाले संकलन गर्दै आएको कोरोना परीक्षणका लागि स्वाब दिनेहरुको भिड लाग्ने गरेको छ ।
नगरपालिकाको कार्यालय अगाडी रहेको शहरी स्वास्थ्य क्लिनिकको भवनमा बिहान एक घण्टाका लागि नगरपालिकाले स्वाब संकलन गरिरहेकाले स्वाब दिने नगरबासीको भिड लाग्ने गरेको हो । पछिल्लो दुई दिनको अबधिमा १ सय ६० जनाले कोरोना परीक्षणका लागि स्वाब दिएका छन् ।
शनिवार र आईतबार दुई दिनका लागि नगरपालिकाले स्वाब संकलन बन्द गरेपनि सोमबार र मंगलबार गरी १ सय ६० जनाको स्वाब संकलन गरिएको गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुबंरले जानकारी दिए ।
समान्य लक्षण हुदाँ पनि कोरोना नै परीक्षण गराउदा रिपोर्ट आउनमा समस्या भैरहको उनले बताए । अहिले रिपोर्टका लागि ५ दिन देखी एक हप्ता लाग्ने गरेको छ ।
नगरपालिकाले यहाँ संकलन गरेको स्वाबहरु परीक्षणका लागि धनगढीको सेती अस्पतालको प्रयोगशालामा पठाउने भएपनि त्यहाँ क्षमता भन्दा बढी हुदाँ परीक्षणमा ढिलाई हुने र रिपोर्ट ढिलो आउने उनले बताए ।
बैशाख १ गतेदेखी १२ सय ३७ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरीएकोमा ४ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।