धनगढी -सुदुरपश्चिम प्रदेश सरकारले निकासा भएको बजेट पनि कोरोना रोकथामको लागी खर्च गर्न नसकेको तथ्य खुलेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले गत वर्षको मंसिरमा प्रदेशमा अक्सिजन प्लान्ट जडान, एम्बुलेन्स र शववाहन खरिदका लागि १३ करोड रुपैयाँको बजेट निकासा गरेको थियो । तर, पाँच महिनासम्म बजेट पनि कार्यान्वयन हुन नसक्दा अहिले कोरोनाका बिरामीहरु अक्सिजन नपाएर ज्यान गुमाउँदै छन् ।
सामाजिक विकास मन्त्रालयका सचिव हरिराम विष्टले नेपालीहरू आपत परेपछि मात्र तात्ने बानीका कारण यो अवस्था सिर्जना भएको स्वीकार गरे। ‘त्यति बेला कोरोना महामारीले यस्तो रूप लेला भन्ने पनि अनुमान गर्न सकिएन’, सचिव विष्टले भने, ‘कोरोनाको संक्रमण घट्दै गएको हो भन्ने हामी सबैको बुझाई रह्यो, तर अहिले अवस्था अकल्पनीय बन्यो।’
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले कोरोना महामारी रोकथाम तथा नियन्त्रण, संक्रमितहरूको उपचारका लागि गत कात्तिक अन्तिम साता आर्थिक मामिला तथा योजना मन्त्रालयसँग २७ करोड रुपैयाँको वित्तीय सहमति माग गरिएको बताए। मन्त्रीस्तरीय निर्णयले उक्त बजेटमध्ये अक्सिजन प्लान्ट, भेन्टिलेटर सहितको एम्बुलेन्सहरू, शवबाहन, ५० शय्याको अस्थायी कोरोना अस्पताल र एक हजार भाइल रेम्डेसिभर खरिद गर्न मंसिर १६ गते १२ करोड ८१ लाख रुपैयाँको वित्तीय सहमति प्रदान गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव ढकालले बताए।
मन्त्रालयका शाखा अधिकृत कमला शाहीले मंसिरको २३ गतेको सो निर्णयअनुसार दुई करोड रुपैयाँको लागतको ठूलो अक्सिजन प्लान्ट एक थान र ८०/८० लाख रुपैयाँको लागतका दरले ४ करोड ८० लाख रुपैयाँ मूल्यका ६ वटा मिनि अक्सिजन प्लान्ट, ए क्लासका भेन्टिलेटर सहितका दुई थान एम्बुलेन्स र रम्डेसिभर औषधी (एक हजार भाइल) खरिदका लागि १२ करोड ८१ लाख रुपैयाँ वित्तीय सहमति प्रदान गरिएको पत्र सामाजिक विकास मन्त्रालयलाई पठाएको जानकारी दिइन्। तर, प्रदेश सरकारले समयमै त्यो बजेट कार्यान्वयन गरेन।
‘आर्थिक मामिला तथा योजना मन्त्रालयले गत वर्ष मंसिरमा दिएको वित्तीय सहमतिपछि पनि काम नहुनु चरम लापरवाही हो। पाँच महिना अवधिमा सबै अक्सिजन प्लान्ट जडान भइसक्नु पथ्र्याे। सबै सातवटा अक्सिजन प्लान्ट जडान भएको भए अहिले यो अवस्था हुने थिएन’, उपसचिव ढकालले भने।
सामाजिक विकास मन्त्रालयले बल्ल वैशाख १६ गते अक्सिजन प्लान्ट जडान गर्न सेती प्रादेशिक अस्पताललाई दुई करोड रुपैयाँ तथा डडेलधुराबाहेक सुदूरपश्चिम प्रदेशका अन्य ६ जिल्ला अस्पताललाई ८०/८० लाख रुपैयाँको अख्तियारी दिएको छ।
सामाजिक विकास मन्त्रालयले बैतडी, दार्चुला, बाजुरा, अछाम, डोटी र बझाङ जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न वैशाख १६ गते मात्रै ८० लाख रुपैयाँका दरले र सेती प्रादेशिक अस्पताललाई दुई करोड रुपैयाँको अख्तियारी दिएको छ। तर, अहिलेसम्म सेती प्रादेशिक अस्पतालबाहेक अरू कुनै पनि जिल्ला अस्पतालले त्यसको सूचना प्रकाशन गरेका छैनन्। सेती प्रादेशिक अस्पतालले लिक्विड अक्सिजन जडानका लागि भने टेन्डर आह्वान गरिसकेको छ।साभार - अन्नपूर्ण पोष्ट