महेन्द्रनगर - स्थानीय तह निर्वाचनपछि गठन गरिएका कञ्चनपुरको भिमदत्त नगरपालिकाको न्यायिक समितिमा दुई वर्षमा ५४ वटा मुद्दा दर्ता भएका छन् । न्यायिक समितिमा दर्ता भएका मध्ये २४ वटा मुद्दा फस्र्यौट गरिएका छन् । समितिमा आएका ६८ वटा मुद्धा मध्ये १४ वटा मुद्दाहरु क्षेत्राधिकार बाहिर रहेकाले फिर्ता गरिएका छन् ।
न्यायिक समितिमा सबैभन्दा बढी जग्गा किचलो सम्बन्धिका २८ मुद्दा दर्ता भएका छन् । त्यसपछि बाटो विवाद ४, गाली गलौज ५, लेनदेन ३ घर झगडा ४, कुटपिट २ र सम्बन्ध विच्छेद, ज्याला मजदुरी नदिएको, खाउन लाउन नदिएको, सिँचाईमा बाधा पुगाएको, रुख कटानीका एक÷एक विवाद रहेका छन् । जग्गा किचलोका २८ मध्ये दुई मुद्दा मिलापत्र गरिएका छन् ।
अन्य १३ विवाद प्रक्रियामा छन् भने ६ ओटा तामेलीमा छन् । न्यायिक समितिमा सहमति हुन नसकेर ७ विवाद अदालत पठाइएका छन् । समितिमा दर्ता गाली गलौजका ५ विवादमा ४ विवाद हल गरिएका छन् भने लेनदेनका ३ विवाद मध्ये दुई वटालाई अदालत पठाइएको छ । यसैगरी सम्बन्ध विच्छेदको विवादलाई समेत अदालतमा पठाइएको छ ।
अघिल्लो वर्ष न्यायिक समितिमा २७ मुद्दा दर्ता भएका थिए । तीमध्ये ५ मुद्दालाई गत वर्ष प्रक्रियामा समावेश गरिएको थियो । संविधानको धारा २१७ उपधारा १ मा सबै नगरपालिकामा आफ्नो क्षेत्रभित्रका विवाद निरुपण गर्न नगर उप प्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समितिको व्यवस्था गरिएको छ । संवैधानिक व्यवस्थाका कारण सबै स्थानीय तहमा उप प्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएका छन् ।
संवैधानिक अधिकार अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा गरिएको व्यवस्था अन्र्तगत न्यायिक समिति गठन गरी क्षेत्राधिकारभित्रका विवाद हल गर्दै आएको भीमदत्त नगरपालिका न्यायिक समितिका संयोजक एबम् उप प्रमुख सुशिला चन्द सिहले जानकारी दिइन् । उनले स्थानीय सरकार सञ्चालन ऐनको दफा ४७ दिएको अधिकारका प्रयोग गर्दै समिति आफ्नो कार्य प्रक्रिया अघि बढाउँदै आएको बताइन् । न्यायिक समिति संयोजक चन्दले न्यायिक समितिमा आएका विवादमा जग्गाका नै सबैभन्दा बढी रहेको बताइन् ।
बिवाद समाधानका लागि पक्ष बिपक्ष दुबैलाई एक ठाउमा राखेर बिवाद मिलाउन निकै अप्ठेरो हुने गरेको उनको भनाई छ । सबै भन्दा बढि जग्गा किचलो विवादमा प्राविधिक टोलीको नापजोखमा विवादित पक्षलाई मिलाउन अप्ठेरो पर्ने गरको संयोजक चन्द बताइन् । भीमदत्तमा मुद्दाका पक्ष विपक्षबीच छलफलका लागि इजलाश बस्ने गरेको छ ।
न्यायिक समितिका लागि २९ मेलमिलापकर्ता छनौट गरिएका छन् । यस वर्ष मेलसमिलापकर्तालाई तालिम दिइने कार्यक्रम बनाइएको छ । न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्न कार्य विधि बनाएको छ । समितिले कार्य्विधिका आधारमा कार्य सञ्चालन गर्दै आएको छ ।
न्यायिक समिति संयोजक चन्द न्यायिक समितिमा बर्सेनी मुद्दा बढ्दै आएकाले समितिलाई समितिले समितिका सदस्य र कर्मचारीको क्षमता वृद्धिका लागि कार्यक्रम गरिने बताइन् । न्यायिक समितिमा भिमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत हरि सिह धामी उजुरी प्रशासक रहेका छन् भने प्रशान्त भट्ट र सन्तोसी साउँद ऐरी सदस्य रहेका छन् ।