अत्तरिया - कोरोना संक्रमितको संख्या बढदै गएपछि डडेल्घुरामा जारी निषेधाज्ञा लम्बाइएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले थप १० दिन निषेधाज्ञा लम्बाइएको हो ।
विश्वभर फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण जिल्लामा तीव्र रुपमा फैलिएपछि निषेधाज्ञालाई थप कडाइ गर्दै २५ देखि जेठ ४ गतेसम्म निरन्तरता दिइएको प्रजिअ घिमिरेले जानकारी दिए ।
अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवा हाललाई बन्द गरिने उनले बताएका छन्। निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन्।
अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्।
लकडाउन थप कडाइ गर्दै खाद्य सामग्रीका पसलहरु अब बिहान ७ बजेदेखि बिहान १० बजेसम्म मात्र खोल्न पाइनेछ। यसअघि प्रशासनले बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म दुई पटक खोल्न दिएको थियो।
यस्तै उता दार्चुलामा पनि जारी निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढिरहेको भन्दै जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको बताइएको छ।
बैठकले यही वैशाख २६ गतेदेखि लागू हुनेगरी वैशाख मसान्तसम्मका लागि लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।