अत्तरिया - कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाको मौका छोपेर अत्तरियाका ब्यापारीहरुले बिभिन्न समानमा मनलाग्दी मूल्यबृद्धि गरेको पाइएको छ ।
विपतको समयमा सहयोग गर्नेबेला बजार क्षेत्रका केही व्यापारीहरूले मेडिकल, किराना पसल, तरकारीमा मनलाग्दी मूल्यवृद्धि गरेको पाइएको हो ।
यसरी मनलाग्दी रुपमा मूल्यबृद्धि गर्दै ब्यापारीहरुले उपभोक्ताहरुलाई ठग्न थालेपछि अत्तरिया बजारमा अनुगमन गरिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग धनगढीले बजार क्षेत्रका केही खाध्य , तरकारीका पसल र मेडिकलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा मिति गुजरेका अखाध्यय वस्तु , सर्जिकल माक्स, ग्लबस, सुर्तीजन्य पदार्थ तथा खानेतेल , तरकारी लगायतका वस्तुमा मुल्यवृद्धि गरिएकोे पाईएको छ ।
बजार क्षेत्रमा व्यापार गरिरहेको किराना पसल , अत्तरियामा रहेको कृषि हाटबजार र फलफुल ठेलाहरुमा मुल्यवृद्धिका बिषयमा अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा बिभिन्न पसलवाट म्याद गुजे्रका अखाध्य वस्तुहरु जफत गरीएका छ भने दुई वटा मेडिकललाई कारबाही गरिएको छ । जसमा अत्तरिया हेल्थ केयरमा होलसेल १.५० रुपयाँमा पाईने सर्जिकल माक्स १० मा बिक्री वितरण गरेको पाईएको हो ।
यस्तै अत्तरियामा रहेको दिप सुवेदी मेडिकल हलबाट मिति गुजरेका औषधी र माक्स खरिद बिल माग गर्दा नपाईएकोले दुवै मेडिकललाई कारबाही गरिएको छ । दुवै उक्त मेडिकलहरुलाई २०÷२० हजार जरिवाना गरिएको छ ।
यस्तै अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरिक्षण अधिकृत कमल ब. पुनमगर , उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रीका प्रमुख स्वकिय सचिव हितेश ओझा , गोदावरी नगरपालिकाका नगरप्रबक्ता शर्मानन्द भट्ट , मालाखेती ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारीहरुको सहभागीतामा अनुगमन गरीएको थियो ।
उपभोक्ता संरक्षण ऐन २०७५ अन्तरगत रहि उनिहरुलाई कारबाही गरीएको निरिक्षण अधिकृत पुनमगरले बताए ।
भारतीय बजारबाट आएका खाद्यान्न, फलफूल र तरकारीको होलसेल व्यापारीहरुको पसलमा बिल नदिएको र उनिहरुलाई आगमी दिनमा बिल राख्न सुझाब सल्लाहा सहित निर्देशन दिएको समेत उनले बताए ।