अत्तरिया - भारतमा दोस्रो लहरको कोरोना तिब्र गतिमा बढीरहेको छ । त्यहाँ दिनकै लाखौ संक्रमित भैरहेका छन् भने हजारौको मृत्यु भैरहेको छ ।
आफ्नो देशमा रोजगारीको अबसर नपाउदाँ भारत जान बाध्य धेरै नेपालीहरु यतिबेला समस्या पर्न थालेका छन् ।
गतबर्ष जस्तै यस बर्ष पनि कोरोनाले रोजगारी खोसिन थालेपछि र कोरोनाको डरले धेरै नेपालीहरु अहिले आफ्नो गाउँघर फर्किन थालेका छन् ।
भारतसंग सिमा जोडिएको सुदूरपश्चिम प्रदेशका खुल्ला रहेका नाकावाट अहिले पनि दैनिक सयौ सुदूरपश्चिमेलीहरु स्वादेश फर्किन थालेका छन् ।
आज मात्रै कञ्चनपुरको गौरीफान्टा र गड्डाचौकी नाका हुदै १३ सय बढी नेपालहरु स्वदेश फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गौरीफन्टाबाट १ हजार ३९ जना र गड्डाचौकी नाकाबाट ३४७ जना गरी आज मात्रै १३ सय ७८ जना स्वदेश फर्किएका हुन ।
दुवै नाकाबाट स्वदेश फर्किएका मध्ये १४ जनामा कोरोना संक्रमण देखिएको छ । प्रशासनका अनुसार गड्डाचौकी नाकाबाट ३ सय ४७ जना भित्रिएका मध्ये ५३ जनाको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने गौरीफन्टाबाट १ हजार ३९ जना स्वदेश फर्किएका मध्ये १ सय २४ जनामा गरिएको एन्टीजेन परीक्षणा १३ जनामा संक्रमण देखिएको हो ।
कोरोना संक्रमण देखिएका बाहेका बाँकी अरु सबैलाई आ–आफ्नो स्थानीय तहको जिम्मा लगाईने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।
कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई भने कञ्चनपुरको महाकाली अस्पताल र सेती अस्तालको आईसोलेसनमा राखिने गरेको जनाएको छ । यस्तै आज दुवै नाकाबाट ३ सय ३१ जना नेपाल बाहिर भारत पसेका छन् ।