मकवानपुर - राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा डा खिमलाल देवकोटा र गृहमन्त्री रामबहादुर थापा बादलले मनोनयन दर्ता भएको छ ।देवकोटाले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एमालेका नेपाल पक्ष र जनता समाजवादी पार्टी उपेन्द्र पक्षका तर्फबाट साझा उम्मेदवारका रुपमा देवकोटाले निर्वाचन आयोग,बागमती प्रदेश कार्यालयमा बिहान साँढे १० बजे मनोनयन दर्ता गरेका हुन्।
माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता एवम् पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानिया, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु लगायतको सहभागितामा डा देवकोटाले मनोनयन दर्ता गरेको बताइएको छ।
त्यस्तै, सत्तारुढ एमालेका तर्फबाट रामबहादुर थापा बादलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। बागमती प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा आइपुगेर गृहमन्त्रीसमेत रहेका थापाले मनोनयन दर्ता गरेका हुन्।
बागमती प्रदेशका मुख्यमन्त्री एवम् पार्टी बागमती प्रदेश संसदीय दलका नेता डोरमणि पौडेल प्रस्तावक र प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेत समर्थक रही बादलले उम्मेद्वारीको मनोनयन दर्ता गरेका हुन्।
बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ। माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभामा पुगेका बादल एमाले प्रवेश गरेपछि कारबाहीमा परेपछि रिक्त रहेको पदका लागि उप निर्वाचन हुन लागेको हो।