डडेलधुरा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आइतबार जिल्ला इन्चार्ज र सह-इन्चार्ज तोकेसँगै केही ठाउँमा बिबाद शुरु भएको छ । कतिपय जिल्लामा तोकिएको इन्चार्ज र सह-इन्चार्जहरुले असन्तुष्टि जनाइएका छ्न् ।
नेकपाले डडेलधुरा इन्चार्ज तोकिएका केन्द्रीय सदस्यसमेत रहेका खगराज भट्टले जिल्ला इन्चार्ज अस्वीकार गरेका छन्। सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापालाई सन्देश पठाएर जुनियरको मातहत इन्चार्ज नबस्ने बरु केन्द्रीय सदस्य नै त्याग्ने घोषण गरेका हुन्।
‘जुनियर मातहत इन्चार्ज बस्नु मेरो क्षमता, योग्यता, त्याग, समर्पण, निष्ठा र बलिदानको अपमान हो,’ उनले थपे, ‘सचिवालयले दिएको इन्चार्ज खानुपर्ने हो भने केन्द्रीय सदस्य त्याग्न तयार छु।’
आफू २०६० सालदेखि केन्द्रीय सदस्य रहेर जिम्मेवारी पूरा गरेको र अहिले पहिलोपटक अपमानित महसुस गर्नुपरेको उनको भनाइ छ।
‘जुनियर नेताहरुलाई उपल्लो नेता बनाएर उनको मातहत हामीलाई राख्ने कोशिसअन्तर्गत मलाई जिल्ला इन्चार्ज राख्ने सिफारिस भयो, यसको प्रतिवाद हो यो,’ उनले भने, ‘चुनावका बेला कांग्रेस प्रवेश गरेकालाई अहिले नेकपाको नेता बनाइएको छ। चुनावमा शेरबहादुरलाई जिताउने खेल त भित्रबाट हुने रैछ भन्ने बुझें मैले।’
नेता भट्टले नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग ३ पटक चुनाव लडेका थिए।