अत्तरिया - एक पछि अर्को गर्दै सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।
पछिल्लो समय नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि कैलाली , कञ्चनपुर सहितका प्रदेशका ९ ओटै जिल्लामा निषेधाज्ञा लागू गरिएको हो ।
सुरुमा यही बैशाख १६ गतेदेखी कैलाली , कञ्चनपुरमा निषेधाज्ञा लागू गरिएको पछि बिस्तारै पहाडी जिल्ला डडेल्घुरा , डोटी , बैतडी, अछाम, बाजुरा र बझाङमा निषेधाज्ञा लागू गरिएको छ ।
कैलाली र कञ्चनपुरमा एक हप्ताका लागि जारी निषेधाज्ञा लम्बाएर बैशाख महिना सम्मलाई निरन्तरता दिने भएको छ ।
जिल्ला प्रशासन डोटीले पनि गए राति १२ बजेदेखि लागू हुने गरी वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय अछामले पनि हिजोदेखी लागु हुने गरी एक हप्ता निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।
दार्चुला र डडेल्धुराले आइतबारदेखि नै निषेधाज्ञा जारी गरिसकेको छ । यस्तै बाजुरामा पनि बुधबार बिहीबार बिहान ५ बजेदेखि बैशाख ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बुधबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय सोमबार गरिएको जानकारी दिए।
निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहने बताइएको छ। अत्यावश्यक सवारी साधन जस्तैः एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनको सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुने छन्।
खाद्य सामग्रीका पसलहरू बिहानको समयमा खोल्ने र अतिआवश्यक कामकाजबाहेक हिँडडुल गर्न पाइने छैन। सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भीडभाड हुने स्थान बन्द रहनेछन् ।
विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन्।