अत्तरिया - कैलालीको गोदावरी नगरपालिकामा कोरोना संक्रमण निकै आक्रमक रुपमा बढिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाभरि बैशाख मसान्त सम्मलाई निषेधाज्ञा जारी गरी सबैलाई घर भित्रै बस्न आग्रह गरिरहेको बेला नगरपालिका भित्र कोरोना संक्रमण झन झन आक्रमक रुपमा बढ्दै गइरहेको हो ।
पछिल्लो दिनमा यस नगरपािलकाभित्र संक्रमण दरले नयाँ नयाँ रेकर्ड राखिरहेको छ । नगरपालिकामा आज मात्रै ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनगढीको सेती प्रादेशकि अस्पतालमा गरिएको परिक्षणमा पुरुष र महिला गरी आज मात्रै ५९ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाले जनाएको छ । आज थपिएका मध्ये सबै भन्दा बढी वडा नं १ का ३१ जना रहेका छन् ।
त्यसपछि वडा नं २ का ११ जना , वडा नं ३ का ३ जना , वडा नं ६ का ११ जना , वडा नं १० का १ जना , वडा नं ११ का एक जनामा संक्रमण पुष्टि भएको हो । यो संगै गोदावरीमा कोरोना संक्रमितको कुल संख्या २ सय ८२ पुगेको छ ।
यस्तै आज नगरपालिका भित्रका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नं १ का ३० बर्षिय पुरुषको मृत्यु भएको हो ।
यो संगै गोदावरीमा कोरोनावाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । कोरोना संक्रमण तिब्र गतिमा बढिरहेकाले थप सजकता अपनाउन आवश्यक देखिन्छ ।