बझाङ - जिल्लामा खडेरीका कारण हिउँदेबाली उत्पादनमा ह्रास आएको छ । जिल्लाको सेती, कालंगा, बहुलीगाड र सुनिगाड लगायत नदी र खोला तटमा रहेका र सिँचाइ सुविधा भएका सीमित क्षेत्रबाहेक आकासे पानीको भरमा खेती गरिने सबै स्थानमा उपज उत्पादन घटेको हो ।
लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौ, उवा, केराउ र मसुरो लगायत हिउँदेबाली उत्पादनमा ह्रास आउँदा जिल्लामा चरम खाद्य संकट हुने देखिएको छ ।
खडेरीका कारण अधिकांश क्षेत्रमा लगायतको हिउँदेबाली सुकेर नष्ट भएको छ । उत्पादन घट्दा कृषिमै निर्भर हुने गरेका र न्यून आयश्रोत भएका परिवारले चरम खाद्यसंकट सामाना गर्नुपर्ने निश्चितजस्तै भएको छ ।
किसानहरूलाई भोकमरी हुने चिन्ताले सताउन थालेको छ । बाली भित्र्याउन व्यस्त हुने कृषकहरू यसपालिको खडेरीले चिन्तित बनेका छन् । अहिलेको समयमा कृषकहरूलाई लाई गहुँ, जौ, मसुरो लगायत हिउँदेबाली काट्ने चुट्ने र भित्र्याउने हतारो हुन्थ्यो ।
‘यसपालि त खडेरी लागेकाले अन्नको बोट पनि देख्न पाइएन,’ थलारा गाउँपालिकाका शेरबहादुर खातीले भने, ‘यो समयमा हामीलाई खानेबस्ने फुर्सदै हुँदैनथ्यो । यसपालि त खेतबारी सबै बाँझो भयो, हिउँदभर पानी परेन ।
पुस–माघमा पानी परे राम्रै उब्जनी हुन्थ्यो। खडेरीले हामी किसानहरूलाई मर्नु न बाँच्नु बनाएको छ ।’ हिउँदेबाली खेतमै सुकेपछि वर्षभरी कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको खप्तडछान्ना गाउँपालिका–७, गोर्खालीका सुर्जन सिंहले बताए ।
उनले भने, ‘हिँउदभरि पानी नपरेका कारण पाखातिर लगाएको बाली सुक्यो । सिँचाइ हुने ठाँउमा अलिअलि उम्रेको थियो, त्यो पनि असिनाले चुटेर सखापै बनायो । एकातिर खडेरीले सुकायो, अर्कातिर असिनाले सतायो । घरमा अन्न छैन । साँच्चै अनिकाल नै आएको हो कि जस्तो लाग्न थाल्यो। उब्जनी नहुँदा खाद्य संकट हुने चिन्ताले सताउन थालेको छ ।’
खडेरीका कारण बालीनाली सुकेकोबारे सुदूरपश्चिम खाद्य अधिकार सञ्जालको टोलीले स्थलगत अध्ययन गरिरहेको छ । सो टोलीले बझाङमा चरम खाद्य संकट उत्पन्न भई स्थानीयवासीहरू भोकमरीको चपेटामा पर्ने अवस्था निम्तनसक्ने जनाएको छ । संयोजक बलबहादुर रोकायाले बझाङमा चरम खाद्य संकट हुने भन्दै खडेरी पीडित किसानलाई तत्काल राहत व्यवस्थापन गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले थलारा गाउँपालिकामा सुख्खा खडेरीले प्रभावित समुदायको प्रारम्भिक तथ्याङ्क संकलन गरेका थियौँ ।
विभिन्न वडाका १ सय ८५ घरधुरीमा गरिएको सर्वेक्षणमा ९३ प्रतिशत घरधुरी प्रभावित भएको पाइएको छ । यो खाद्य संकटको उच्चतम विन्दू हो ।’
प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागी तत्काल राहत स्वरुप खाद्यान्न वितरण गर्नुपर्ने र बर्खे वालीका लागी बीउ तथा मल निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।
आकाशे पानीको भरमा खेती हुने क्षेत्रका किसान सिँचाइको सुविधा भएका क्षेत्रबाहेक आकासे पानीको भरमा खेती गरिने ठाउँको ९० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्ला भरी १५ हजारभन्दा बढी हेक्टरमा गहुँ, जौ, उवा, केराउ र मसुरो लगायतका हिउँदेबाली लगाएकोमा ६ हजार २ सय हेक्टर क्षेत्रफलमा उत्पादन शुन्य रहेको ज्ञान केन्द्रले जनाएको छ ।
खडेरीका कारणले जिल्लामा ९ हजार ३ सय ३६ मेट्रिक टन हिउँदेबाली पूर्णरूपमा नष्ट भएको ज्ञान केन्द्रका प्रमुख टेक बहादुर विष्टले बताए ।
उनले भने, ‘जिल्लामा कूल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ । सिँचाइ नभएको ठाउँमा बाली सुकेर पूरै नष्ट भएको छ ।
बझाङमा वार्षिक ३२ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । यो जनसंख्याको अनुपातमा पर्याप्त छैन । हरेक वर्ष ७ हजार मेट्रिक टन अपुग हुने गरेको थियो ।
यसपाली त खडेरीले उत्पादनमा ह्रास ल्याएको छ । सरदरमा यो वर्ष १३ हजार मेट्रिक टन खाद्यान्न अभाव हुने देखिन्छ ।’
खडेरीका कारण जिल्लामा कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या भोकमरीको चपेटामा पर्ने र १४ हजार घरधुरीमा चरम खाद्य संकट हुने उनले बताए ।रासस