अत्तरिया - कैलालीको अत्तरियामा रहेको पदमा अस्पतालले संचालनमा ल्याएको कोरोना वार्ड कोरोना संक्रमितले भरिएको छ ।
संक्रमितको उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने गरी प्रदेशको सामाजिक विकास मन्त्रालयसंग भएको सम्झौता अनुसार पद्मा अस्पतालले केही दिन अगाडी मात्रै संचालनमा ल्याएको कोरोना वार्ड संक्रमितले भरिएको हो ।
१० बेडको कोरोना वार्डमा आज बिहान सम्म ९ जना संक्रमित भर्ना भएको पदमा अस्पतालका निर्देशक डा नर बहादुर मौनीले जानकारी दिए ।
उनका अनुसार कैलाली अत्तरिया , धनगढी , महेन्द्रनगरका कोरोना संक्रमितहरु वार्डमा भर्ना भएर उपचार लिरहेका छन् । कोरोना वार्ड संचालमा आएदेखी संक्रमितहरु आउन थालेपछि भरिभराउ भएको र अब एक वेड मात्रै खाली रहेको डा मौनीले बताए ।
उनले संक्रमितहरु मध्ये सबैको अबस्था सामान्य रहेको र एक दुई जनालाई अक्सिजन सपोर्टमा राखेर उपचार भैरहेको बताए ।
अक्सिजन सहित संचालनमा ल्याएको कोरोना वार्डमा आवश्यक जनशक्ति र उपकरण नहुदा गम्भिर प्रकृतिका बिरामीहरुको उपचार गर्न भने नसकिने उनले बताए ।
प्रदेश सरकारसँगको सम्झौता अनुसार पद्मा अस्पतालसंगै कैलालीका अन्य निजि अस्पतालहरुले ५ देखि १० शैया सम्मको कोभिड वार्ड स्थापना गरेर संक्रमितको उपचार गरिरहेका छन् भने अत्तरियाको सुदूरपश्चिम सामुदायिक अस्पतालले ४० बेडको वार्ड स्थापना गरेको छ ।
निजि अस्पतालको कोभिड वार्डमा भर्ना भएका कोरोना संक्रमितको उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले नै बेहोर्ने सम्झौता भएको छ ।