अत्तरिया - सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्घुरा र अछाममा पनि आजवाट एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना जोखिम बढ्दै गएको भन्दै यस अघि तराईका दुई जिल्ला कैलाली कञ्चनपुरमा यही बैशाख १६ गतेदेखी निषेधाज्ञा जारी गरिएकोमा पहाडी जिल्ला डडेल्घुरा र अछाममा पनि आजवाट निषेधाज्ञा जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय डडेलधुराले आजवाट लागु हुने गरी एकसाताका लागि निषेधाज्ञा जारी गरेको जनाएको छ । कोरोना भाइरस ९कोभिड–१९० संक्रमण तीब्र गतिमा बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।
शुक्रबार बसेको सर्वपक्षीय बैठकको सुझावका आधारमा आज बिहान ६ बजेदेखि वैशाख २५ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको उनले बताए । यो अवधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खाद्यान्नका पसल भने बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म तथा दिउँसो ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
यस्तै जिल्लामा आज राती १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।
भारत र नेपालका विभिन्न जिल्लामा कोरोनाको संक्रमण दर एकदमै उच्च रहेको भन्दै अछाममा पनि संक्रमण दिनानुदिन बढिरहेको अवस्थामा निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताए ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रको सिफारिस तथा जिल्ला सुरक्षा समिति अछामको वैशाख १६ गते बसेको निर्णय अनुसार जिल्लाभर निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी मल्लले बताए ।
जिल्लावासी सबैमा उक्त निर्देशन पालना गर्न आग्रह गरिएको छ भने नियमको उल्लङ्घन गरे प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।