बझाङ - भारत र अन्य जिल्लाबाट आएकालाई क्वारेन्टिन र आइसोलेशनमा नराखी सिधै घर पठाउँदा कोभिड-१९ जोखिम बढेको छ ।
स्थानीय तहले कोभिडको जोखिम नियन्त्रणमा चासो नदिँदा समुदायस्तरमा कोभिडको त्रास फैलिएको हो । अहिले जिल्लामा १३५ जनामा कोभिडको संक्रमण पुष्टि भएको छ भने दुई जनाको ज्यानसमेत गएको छ । जिल्लामा कोभिड संक्रमितको संख्या पनि दिनदिनै बढ्न थालेको छ । जिल्ला बाहिरबाट घर फर्कनेको लर्को लाग्न थालेको छ । यसरी जिल्ला भित्रनेलाई क्वारेन्टिनमा नराखी सिधै घर पठाउँदा संक्रमण फैलिने त्रास भएको तलकोट गाउँपालिकाका गणेश धरालाले बताए ।
सरकारले देशका विभिन्न शहरमा निषेधाज्ञा जारी गरेसँगै रोजगारी र अध्ययनका लागि जिल्ला बाहिर गएकाहरु घर फर्कन थालेका छन् । हुलका हुल मानिस गाउँ पसेका छन् । गाउँमा न त क्वारेन्टिन छन्, न त सुरक्षा सतर्कता अपनाइएको छ । स्थानीय तहहरू कोभिडको संक्रमण नियन्त्रणका लागि संवेदनशील नहुँदा संक्रमण भयावह हुन थालेको धरालाले आरोप लगाए ।
जिल्ला स्वास्थ्य कार्यालयले एक महिनाअघि कोभिडको जोखिम कम गर्न स्थानीय तहलाई स्वास्थ्य शाखा संयोजक प्रमुख रहने गरी टोली परिचालन गर्न पत्राचार गरेको थियो । जोखिम कम गर्न घटना अनुसन्धान र कन्ट्याक्ट ट्रेसिङ गर्ने गरी टोली परिचालन गर्न पत्राचार गरिएको भए पनि स्थानीय तहले बेवास्ता गरेका छन् ।
कोभिडको संक्रमण नियन्त्रणका लागि सक्रिय भूमिका खेल्नुपर्ने स्थानीय तह सक्रिय नहुँदा संक्रमण झन् बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । भारतबाट फर्केकाहरूमा कडा खालको संक्रमण देखिएको र हालसम्म परीक्षण गरिएकामध्ये ४० प्रतिशतमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।
जोशीले भने,भारतबाट फर्केका दुई जनाको त संक्रमणका कारण मृत्यु भइसकेको छ । अहिले गम्भीर अवस्थाका २५ जनालाई कोभिड वार्डमा राखेर उपचार गराइरहेका छौँ । यसरी संक्रमण दर बढ्दै जाने हो भने बेड पनि थप्नुपर्ने अवस्था आउँछ । संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ नहुँदा संक्रमण झन् बढ्दै गएको हो । संक्रमितलाई आइसोलेशनमा राख्ने र जिल्ला भित्रनेलाई कडाइका साथ क्वारेन्टिनमा राख्ने व्यवस्था नभए संक्रमणले भयावह रूप लिने संकेत छ ।
स्थानीय तहमा क्वारेन्टिन नभएको र जिल्ला बाहिर बाट घरफर्केकालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको केदारस्युँ गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले बताए । उनले भने,अहिलेसम्म त हाम्रो गाउँपालिकामा त्यति जोखिम छैन । गत वर्ष क्वारेन्टिन व्यवस्थापन गर्न हम्मेहम्मे भयो । हामीले जिल्ला भित्रने सबैलाई दश दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्न भनेका छौँ । हामीसँग कोभिड वार्ड पनि छ । लक्षण देखिएका र शंकास्पदलाई सोही ठाउँमा चिकित्सकको निगरानीमा राखेका छौँ । संक्रमणबाट बच्न सरकारले लागु गरेका नीतिनियमको पालना गर्न विभिन्न सञ्चारमाध्यमबाट सूचना सम्प्रेण गरिरहेका छौँ ।
सरकारी कार्यालयका सेवा बारअनुसार जिल्लामा कोभिडको संक्रमण बढेपछि सरकारी कार्यालयले १२ वटै पालिकावासीलाई बारअनुसार सेवा दिन लागेको छ । कार्यालयमा भिडभाड हुनसक्ने अवस्थालाई ध्यानमा राखी कार्यालयले सबै स्थानीय तहलाई बार छुट्याएको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला अदालत, मालपोत तथा नापीलगायत सरकारी कार्यालयले सेवाग्राहीको भिडभाड रोक्न स्थानीय तहलाई हप्तामा दुईदुई दिन छुट्याएर सेवा सुरु गरेको हो ।
निमित्त प्रजिअ विष्णुप्रसाद सुवेदीलाई कोभिड संक्रमण भएपछि नागरिकता जारी गर्ने काम बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बुधबार साँझ सुवेदी संक्रमित भएर आइसोलेशनमा बसेपछि बिहीबारदेखि नागरिकता जारी गर्ने काम बन्द भएको छ । यस्तै जयपृथ्वी नगरपालिकाका कर्मचारीमा संक्रमण देखिएपछि यही वैशाख २० गतेसम्मका लागि सबै सेवा बन्द गरिएको छ । खप्तडछान्ना गाउँपालिकामा पनि कर्मचारीमा संक्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ ।
सदरमुकामलगायत मुख्य बजार बन्द कोभिड संक्रमण जोखिम बढ्दै गएपछि सदरमुकाम चैनपुरलगायत मुख्य बजार क्षेत्र बन्द भएका छन् । बजारमा भिडभाड हुन नदिन र पसल बन्द गराउन प्रहरी परिचालन गरिएको छ । बिहीबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले समुदायस्तरमा संक्रमण देखिन थालेको निष्कर्ष निकाल्दै शुक्रबारदेखि बजार बन्द गर्ने निर्णय गरेको थियो । जिल्लामा संक्रमणदर बढदै गएकाले अर्को सूचना जारी नभएसम्मका लागि बजार बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।
जथाभावी आवतजावतले जोखिम बढाएकाले चैनपुरमा आवतजावतमा पनि रोक लगाइएको छ । स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाबाहेकका खाद्य पदार्थ, तरकारी र ग्यास पसल बिहान ६ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खुला हुने भएका छन् । औषधोपचार तथा अन्य अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै बजार क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । रासस