धनगढी– कोरोना संक्रमित बढदै गएपछि ढिलै भएपनी सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो सकृयता बढाउन थालेको छ । यस बिषयमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकार वाला सँग छलफल गरेको छ । उसले कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन नदिइने निर्णय गरेको छ ।
बिहीबारको बैठकमा प्रदेशभरीका सबै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भइरहेको जानकारी गराइएको थियो। कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएपछि सेती प्रादेशिक अस्पतालको कोभिड आइसोलेसनमा बिरामीको चाप बढेकाले अर्को आइसोलेसन निर्माण गर्ने निर्णय समेत भएको छ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी बिहीबारदेखि नै गेटा मेडिकल कलेजको एउटा भवनमा आइसोलेसन र होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय भएको हो।
यस्तै, अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमानाका भएर नेपाल प्रवेश गर्नेको नाकामै प्रभावकारी स्वास्थ्य जाँचको व्यवस्थालाई थप प्रभावकारी बनाइने पनि बिहीबारको बैठकले निर्णय गरेको छ।
यस्तै, सेती प्रादेशिक अस्पतालमा थप भेन्टिलेटरसहित आइसीयु बेड थप्ने र संक्रमितको उपचारका लागि निजी अस्पतालहरुलाई पनि तयारीमा राख्न आग्रह गरिने समेत बिहीबारको बैठकले निर्णय गरेको छ।
बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री भट्टसहित सामाजिक विकास मन्त्री, कैलालीका प्रमुख जिल्ला अधिकारी, धनगढी उपमहानगर मेयर, सामाजिक विकास मन्त्रालयका सचिव, संघीय जनस्वास्थ्य महाशाखा प्रमुख, प्रदेश स्वास्थ्य आपुर्ति प्रमुख, सेती अस्पतालका मेसु लगायतको सहभागिता थियो।