अत्तरिया - कैलालीको अत्तरियामा २ दिने वित्तिय साक्षरता सम्बन्धि तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिका भित्र रहेका चार ओटा सहकारीमा आबद्ध सहकारीका अध्यक्ष सहित संचालक समितिका पदाधिकारीहरु , ब्यवस्थापकहरु , लेखा समितिका पदाधिकारीहरु र कर्मचारीहरुलाई वित्तिय साक्षरता सम्बन्धि जानकारी दिनका लागि आयोजना गरिएको तालिम शनिवार सम्पन्न भएको हो ।
तालिम शुक्रवार र शनिवार गरी दुई दिन सम्म संचालन भएको विश्वज्योति महिला विकास बहुउध्ेश्यीय सहकारी संस्था गेटाकी अध्यक्ष तुलसी देवकोटाले जानकारी दिइन् । सहकारीका निति नियमका बारेमा बृहत रुपमा जानकारी गराई पुराना निति नियमहरुलाई संसोधन गर्नुपर्ने कुरा र सहकारीमा आबद्ध भएका पदाधिकारीहरुको नेतृत्व तथा क्षमता अभिबृद्धि गरी आ आफ्नो सहकारीलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारे जानकारी दिन तालिमको आयोजना गरिएको उनले बताइन् ।
ग्रामिण क्षेत्रका नागरिकहरुको एक एक रुपैया संकलन गरेर स्थापना भएको सहकारीलाई सेवामुखी र आर्थिक रुपमा सब्बल बनाउन के कस्ता निति नियमहरुलाई बनाउनुपर्छ भन्ने बारेमा तालिमवाट धेरै ज्ञान पाइएको जिवनज्योति महिला विकास बहुउध्ेश्यीय सहकारी संस्था तेघरीकी अध्यक्ष सुमित्रा सोपले बताइन् । उनले यस तालिमवाट आफ्नो नेतृत्व तथा क्षमता विकासमा पनि अभिबृद्धि भएको बताइन् ।
तालिमवाट सहकारीका पछिल्ला निति नियमका बारेमा आफुहरुले थुप्रै कुराहरु जान्न पाएकाले यसवाट सिकेको कुरालाई अब आ आफ्नो सहकारीहरुमा लागु गर्ने तालिममा सहभागीहरुले बताएका छन् ।
तालिममा सहभागीहरुलाई नवजिवन सहकारी संस्थाका उपाध्यक्ष डा.गोविन्दराज जोशी , नवजिवन सहकारी संस्थाका महाप्रबन्धक डा. डम्बर सिं गुरु , कैलाली बहुमुखी क्याम्पसका सह प्रध्यापक डा. राजेन्द्र विर चन्द र प्रध्यापक एबम् कैलाली जनपुस्तकालयका अध्यक्ष डा. टिएन जोशीले प्रशिक्षण दिनुभएको थियो ।
विश्वज्योति महिला विकास बहुउध्ेश्यीय सहकारी संस्था गेटा , जिवनज्योति महिला विकास बहुउध्ेश्यीय सहकारी संस्था तेघरी , सृजनशिल महिला विकास बहुउध्ेश्यीय सहकारी संस्था श्रीपुर र प्रगतिशिल महिला विकास सहकारी संस्था गोदावरीको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न भएको हो । गोदावरी नगरपालिका भित्र मात्रै अहिले ५० भन्दा बढि सहकारी संस्थाहरु रहेका छन् ।