अत्तरिया - सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आजदेखि निषेधाज्ञा लागू भएको छ । आज विहान ६ बजे देखि एक हप्ताका लागि निषेधाज्ञा लागू भएको हो ।
दुवै जिल्ला कोेरोना संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।
निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ । सार्वजनिक र निजी यातायात बन्द भएका छन् ।
तर एम्बुलेन्स, शव बाहन, प्रेसको गाडी भने चलिरहेका छन् । निषेधाज्ञाको समयमा खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल बाहेक सबै पसल बन्द रहनेछन् भने खाद्य सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइने छ ।
यस्तै सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना आदि सञ्चालनमा रोक लगाइएको छ ।
विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने छन् ।
नेपाल सरकारका कर्मचारी, बैंक बित्तीय संस्था तथा अन्य अत्यावश्यक कार्यालयका कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन्।
पत्रकारको हकमा भने सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने भएको छ ।