कञ्चनपुर - जिल्लामा यही बैशाख १६ गते अर्थात भोलीदेखी एक हप्ता लकडाउन हुने भएको छ । कोरोनाको संक्रमण समुदाय स्तरमै पुगेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १६ देखि २२ गतेसम्म पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।
लकडाउनको समयमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुनेछन् । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संयोजकत्वमा मंगलवार साँझ बसेको बैठकले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, स्वमिङपुल, सपिङमल, मनोरञ्जनस्थल, सैलुन, व्युटी पार्लर, जिमखाना, खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन गर्नमा रोक लगाएको छ।
औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल तथा व्यवसायबाहेकका अन्य पसल व्यवसाय बन्द गरिने छन्।
तरकारी, फलफूल तथा खाद्य सामग्रीका पसल जनस्वास्थ्यको सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्ने गरी बिहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइने छ ।
सार्वजनिक तथा निजी सवारी साधनहरु पनि सञ्चालन गर्न पाइने छैन । यस अघि कञ्चनपुरमा रात्रिकालिकान लकडाउन गरिएको थियो । जसको सबैले चर्को बिरोध गरेका थिए ।