काठमाडौ– कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिरहेको छ। नयाँ भेरियन्टको फैलावटसँगै अहिले देशभर कोरोना संक्रमणको ग्राफ उकालो लाग्ने क्रम दैनिकजसो बढ्दो छ।
गत चैत महिलाको दोस्रो सातासम्म दैनिक रुपमा कोरोना संक्रमण हुने दर दोहोरो अंकमै सीमित थियो। भारतमा कोरोना संक्रमणको दोस्रो लहर फैलिन थालेपछि त्यसको असर नेपालमा पनि देखा पर्न थाल्यो। चैत तेस्रो सातादेखि दैनिक पुष्टि हुने संक्रमितको संख्या १०० भन्दा उकालो लाग्यो।
नयाँ वर्ष शुरु हुँदा दैनिक ५ सय बढीको हाराहारीमा संक्रमितहरु थपिँदै गइरहेका थिए। पछिल्लो समय त संक्रमितहरु थपिने क्रम झन उच्च दरमा बढ्दै गएको छ।
वैशाख १ गतेसम्म देशभर जम्मा ४ हजार ५६ जना मात्रै सक्रिय संक्रमित थिए। तर, १२ दिनको अवधिमा सक्रिय संक्रमितको संख्या झन्डै ५ गुणाले बढेको छ। वैशाख १२ गते सार्वजनिक गरिएको तथ्याङ्कअनुसार देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८२ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसबीचमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या समेत बढ्दै गएको छ। आइतबार सार्वजनिक गरिको विवरणअनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको छ।
शनिबार सार्वजनिक गरिएको विवरणमा २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको जनाइएको थियो। तर, आइतबार भने उक्त संख्या बढेर २८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार वैशाख १ गतेयता मात्रै कोरोना संक्रमणबाट १ सय ३ जनाको मृत्यु भएको देखिन्छ। वैशाख १ गतेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३ हजार ६१ थियो भने वैशाख १२ गतेसम्म उक्त संख्या बढेर ३ हजार १ सय ६४ पुगेको छ।