सुदूरपश्चिम - चालु आर्थिक वर्षको नौ महिनामा सुदूरपश्चिम प्रदेशमा ६४ हजार बढी सवारी साधन कारवाहीमा परेका छन् ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४ हजार ३ सय ५ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार गएको साउनदेखि चैतसम्म सबैभन्दा बढी २४ हजार ४ सय ६० मोटरसाइकल, १४ हजार ७ सय ४० जिप र कार, ११ हजार ३ सय १ ट्रक, नौ हजार ५ सय ९० ट्र्याक्टर, दुई हजार ८० बस र दुई हजार १ सय ३४ अन्य सवारी साधन कारवाहीमा परेका छन् ।
कारवाहीमा परेका सवारी साधनबाट रु तीन करोड ७० लाख ८४ हजार ५सय राजस्व सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।“यी सवारी साधनबाट यस वर्ष करिब पौने चार करोड राजस्व सङ्कलन भएको हो”, उनले भने, “ट्राफिक नियम पालना नगर्ने, मापदण्डविपरीत चलाउने कारवाहीमा परेका हुन्। हामीले सवारी दुर्घटना नहोस् भनी ट्राफिक नियम पालना गराउन कडाई गर्ने गरेका छौँ ।”
अघिल्लो आर्थिक वर्ष ५६ हजार १ सय ५३ सवारी साधन कारवाहीमा पर्दा तीन करोड ३१ लाख ९९ हजार ५ सय राजस्व सङ्कलन भएको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा यस चालू आव नौ महिनामा नै आठ हजार १ सय ५२ बढी सवारी साधन कारवाहीमा परेका छन् भने ३८ लाख ८५ हजार राजस्व बढी सङ्कलन भएको देखिन्छ ।
सवारी साधनको सङ्ख्यामा वृद्धि र ट्राफिक प्रहरीले जाँच कार्यलाई तीव्रता दिएका कारण सवारी साधन बढी कारवाहीमा परेका प्रहरी निरीक्षक सिंहको भनाइ छ। उनले भने, “सवारी दुर्घटना समस्याका रुपमा बढ्दै गएकाले हामी निरन्तर लागेका छौँ। सवारी दुर्घटना कम गर्न प्रहरीमात्र होइन, नागरिक, सवारी चालक सबै सचेत हुन आवश्यक छ ।”
यस वर्षको नौ महिनामा ४ सय ८१ सवारी दुर्घटना हुँदा ६ सय ७४ सवारी साधनमा क्षति भएको छ भने १ सय ४७ को ज्यान गएको छ। यस अवधिमा ५ सय ११ गम्भीर र ४ सय ४७ जना सामान्य घाइते भएका छन्। ट्राफिक कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आवको नौ महिनामा २ सय ३२ सवारी दुर्घटना हुँदा ३ सय ७ सवारी साधनमा क्षति भएको थियो भने १ सय १६ को ज्यान गएको थियो। अघिल्लो आवको नौ महिनाको तथ्याङ्क हेर्दा यस चालू आवमा बढी सवारी दुर्घटना भएको देखिन्छ ।
बस चालक रुपेश चौधरी कुनै एक पक्षले मात्र सजग बनेर सवारी दुर्घटना न्यूनीकरण गर्न नसकिने भएकाले सबै सचेत बन्नुपर्ने, सर्वसाधारणले पनि ट्राफिक नियम पालना गर्नुपर्ने बताउँछन्। “अधिकांश सवारी दुर्घटना चालकको होइन नागरिकको लापर्वाहीले समेत भएका हुन्छन् ।
दुर्घटना भएमा ठूलो सवारीले क्षति ब्योहोर्नुपर्ने बाध्यता छ”, सवारी चालक चौधरी भन्छन्, “कतिपय साथीहरु अरुको गल्तीले पनि कारवाही भोग्न बाध्य छन्। त्यसैले दुर्घटनाबारे ज्ञान सबैलाई दिन आवश्यक छ ।” रासस