अत्तरिया - सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा आशिंक निषेधाज्ञा जारी गरिएको छ । पछिल्लो समय कोरोना भाईरसको दोस्रो लहर सुरु भएकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दुवै जिल्लाका स्थानीय प्रशासनले आशिंक रुपमा निषेधाज्ञा जारी गरेका हुन् ।
आशिंक निषेधाज्ञा संगै जिल्ला भर विभिन्न क्षेत्रमा रोक लगाएको छ । कैलालीको धनगढी उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द हुनेछन् भने अन्य स्थानीय तहलाई पनि १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
यस्तै सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लव, हेल्थक्लव, जिमखाना, स्वीमिङ फुल, हाटबजार बन्द गर्न आदेश दिइएको छ । उनका अनुसार सभा, सम्मेलन र जुलुस गर्न बैशाख मसान्तसम्म रोक लगाइएको छ ।
मठ, मन्दीर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पूरा गरी नित्य पूजा, ध्यान र प्राथना मात्रै गर्न पाइने भएको छ ।
उता कञ्चनपुरको भिमदत्त नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ भने अन्य स्थानीय तहलाई आवश्यक व्यवस्थपन गर्न भनिएको छ । यस्तै सभा, सम्मेलन र जुलुस गर्न बैशाख मसान्तसम्म रोक लगाइएको छ ।
सरकारी कार्यालय, बैंक तथा वित्तिय सस्था, सहकारी लगायतका संघसस्था विद्युतीय माध्यमबाट सञ्चालन गर्न र सम्भव नभएको खण्डमा जनस्वास्थ्यको मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिइएको छ ।
आदेशको अवज्ञा गरे संक्रामक रोग २०२० अनुसार कारवाही हुने दुवै जिल्ला प्रशासन कैलाली र कञ्चनपुरले जारी गरेको आदेशमा भनिएको छ ।