अत्तरिया - सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन (हिउँदे अधिवेशन)आज राति १२ बजेदेखि अन्त्य हुँदैछ ।
प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुन बहादुर थापाले सातौँ अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् ।
गएको माघ २६ गते शुरु भएको यो अधिवेशन अन्तर्गत २० दिनमा ३१ पटक बसेको बैठकको कारवाही १७ घण्टा १८ मिनेट सञ्चालन भएको थियो ।
सातौँ अधिवेशनमा प्रदेश बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना गर्न बनेको विधेयक पारित भएको छ ।
यसैगरी प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित भएको छ।
दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको पर्यटनलगायत विधेयक विचारधीन रहेका छन्। अधिवेशनको अन्तिम दिन आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टकोतर्फबाट सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बैठकमा उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
यसअघि उक्त विधेयकमाथि भएको छलफलमा प्रदेशसभाका सदस्य अमबहादुर साउद, वीरमान चौधरी, गोविन्दराज बोहरा र मालामतिकुमारी रानाथारुले भाग लिएका थिए।
सातौँ अधिवेशनको अन्त्य हुने अघिल्लो दिन सोमबार बसेको प्रदेशसभाको बैठकमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेशसभा सदस्य झपटबहादुर बोहराको पद रिक्त भएको विषय जानकारी दिइएको थियो।