काठमाण्डौ - त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालको विजयी सुरुवात गरेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको आज भएको उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
नेपालको जितमा कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक बनाए । कुशलले ३० बलमा ५ चौका र ४ छक्काको सहयोगमा ६२ रन जोड्दै डेब्यु खेलमा अर्धशतक पूरा गरे। आसिफले ३६ बलमा समान ४ चौका र ४ छक्काको मद्दतमा ५४ रन बनाउँदै डेब्यु अर्धशतक पूरा गरेका हुन्।
नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको नेपालका लागि एक विकेटको क्षतिमा नेपालले १५ ओभर खेल्दै लक्ष्य पूरा गरेको हो। टस हारेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर १३६ रन बनाएको थियो ।
यही वैशाख ११ गते सम्म डबल राउन्ड रोविनका आधारमा हुने उक्त प्रतियोगिता शीर्ष दुई टोली उपाधिका लागि खेल्ने छन्।
नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम, कमलसिंह ऐरी र सुशन भारीलाई घरेलु मैदानमा उतारेको छ । चोटका कारण पूर्वकप्तान पारस खड्का मैदान बाहिर रहेको छन्।