बैतडी - सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा बैतडी जिल्लामा ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान सञ्चालनमा आएको छ । स्वास्थ्य कार्यालयले ‘स्वस्थ जीवनशैली अपनाउने प्रतिबद्धता गरौं, निरोगी बनौँ, स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ भन्ने नाराका साथ सो अभियान सञ्चालनमा ल्याएको हो ।
अभियान अन्तर्गत जिल्लामा सरकारी कार्यालयका सबै कर्मचारीको नियमित स्वास्थ्यपरीक्षणको काम भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । ‘म हिँड्छु, मेरो प्रदेश हिँड्छ’ अभियान अन्तर्गत स्वास्थ्य कार्यालयले जिल्लाका सबै सरकारी कर्मचारीको स्वास्थ्यपरीक्षण गरिरहेको हो । उहाँले भन्नुभयो,“कर्मचारीको स्वास्थ्य जाँच गरी नसर्ने रोगबाट बच्न स्वास्थ्य सल्लाहसमेत प्रदान गरिरहेका छौँं, नसर्ने रोगबाट बच्नको लागि अपनाउनपर्नुे स्वास्थ्य सावधानीका बारेमा जानकारी र सतर्कता अपनाउन प्रोत्साहन दिनको लागि स्वास्थ्य परीक्षणको काम जारी राखेका हौं” ।
जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीको स्वास्थ्य चेकजाँच गर्दै स्वस्थ जीवनशैली अपनाउन अभियानले सहयोग गर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । कर्मचारीले कार्यालयमा बसेरै काम गर्ने गरेको र शारीरिक क्रियाकलापमा कम सक्रिय हुने गरेकोले विभिन्न खालका नसर्ने रोगको जोखिम बढ्दै गएको उहाँको भनाइ छ । विभिन्न रोगको जोखिम कम गर्न अभियान सञ्चालनमा आएको हो ।
यस्तै अस्वस्थकर खानपिन, धूमपान तथा मद्यपानको प्रयोगबाट निम्तिने जोखिमपूर्ण व्यवहार गर्न अभियानले मद्दत गर्ने अपेक्षा गरिएको छ । जिल्ला सदरमुकाममा रहेका विभिन्न सरकारी कर्मचारीको मधुमेह, रक्तचाप, शरीरको मोटोपना, मिर्गाैला र कोलेस्ट्रोल आदीको परीक्षढा गरी समयमै रोग पत्ता लाग्ने र निवारणका लागि सहज हुने स्वास्थ्य कार्यालयले जनाएको छ । अभियानका लागि प्रदेश सरकारले तीन लाख बजेट विनियोजन गरेको छ ।
पहिलो चरणमा जिल्ला सदरमुकाममा रहेका सरकारी कार्यालयका कर्मचारीको स्वास्थ्य परीक्षणको काम भइरहेको र दोस्रो चरणमा पालिकाका कर्मचारीको पनि स्वास्थ्यपरीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । सरकारी कार्यालयको समन्वयमा स्वास्थ्य कार्यालयको टोलीले कर्मचारीको नियमित स्वास्थ्य जाँच गरिरहेको छ । रासस