अत्तरिया - आज साउन महिनाको पहिलो दिन अर्थात साउने सक्रान्ति पर्व सुदुरपश्चिम सहित देशभर मनाइदैछ । आजबाट असार सकिएर साउन महिना शुरु भएको छ । साउने संक्रान्तिलाई पछिल्लो समयमा लुतो फाल्ने सक्रन्तिका रुपमा मनाउने चलन रहेको छ । लुतो फाल्ने आ–आफ्नै जन विश्वास रहेको छ ।
आजकै दिनबाट सूर्य कर्कट राशीमा प्रवेश गर्ने भएकाले यसलाई कर्कट सक्रान्ति पनि भनिन्छ । साउन महिनामा सूर्य कर्कट राशीमा रहने भएकाले धेरै गर्मी हुने र निरन्तर झरि पर्ने तथा कृषकहरु कृषी कार्य गर्दा पानीमा भिज्ने, माटोमा खेल्ने, अनि हिलाम्मे हुने गर्दछन् । जसका कारण मानिसलाई यो महिनामा विभिन्न किसिमका छालासंग सम्बन्धित रोगहरु विषेश गरि लुतो, दाद, घमौरा आउने बढी सम्भावना हुन्छ ।
मानो खाई मुरी उव्जाउने कथन अनुसार धान रोपाईको काम सकिएको दिनका रुपमा आज साउने सक्रान्ति पर्व मनाउने प्रचलन छ । महिनाभर हिलोमा पसेर खेतीपाती गर्दा लुतो आउन सक्ने भएकाले किसानहरु शरिर सफा राखी किसानहरु लुतो फाल्ने गर्दछन् । कागती, अम्वा, अनार नास्पाती, आदी फलफुल चढाई कण्डारक नामक राक्षसको पूजा गर्नाले लुतो, खटिरा जस्ता चर्मरोगको प्रकोपबाट वच्न सकिने विश्वास रहिआएको छ ।
यस दिन नदि किनारमा गई शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश छ भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ । कतै भने आज बेलुका साझ परेपछि पैयाको हाँगा, कुरिल्लो आदि राखेर आगोको राको लाई फाल्ने चलन पनि छ ।
यसैगरी साउनलाई शिव भगवानको उपसना गर्ने महिनाकारुपमा पनि लिइन्छ । खासगरी साउने सोमबारका दिन शिवालयहरुमा श्रद्धालुहरुको घुँइचो हुने गर्छ । देशभर साउनमा विभिन्न व्रत र धार्मिक क्रियाकलाप हुने गर्छन् । साउन महिनाभरि अत्यन्त वर्षा हुने भएकोले यसलाई ‘पावस ऋतु’ पनि भन्ने गरीन्छ ।