कैलाली - कैलालीका मोहना र पथरैया नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन् । चेतनशील प्राणीका रूपमा रहेको दुर्लभ जलचर प्राणी डल्फिन टीकापुर नगरपालिका–७ स्थित मोहना र पथरैया नदीको दोभानमा देखिन थालेपछि दैनिक डल्फिन हेर्नेहरू आउने गरेका छन् । एक सातायता यी नदीमा डल्फिन देखिन थालेका स्थानीयवासी नरेन्द्र रेग्मीले बताए ।
“एक सातायता डल्फिन हेर्नेहरू आउन थालेका छन्, बिहानै हेर्न जाँदा डल्फिन खेलिरहेको देखिन्छन्”, रेग्मीले भने, “हिजो त तीन वटा बच्चा पनि देखेँ, करीब एक दर्जन जति डल्फिन रहेको अनुमान छ ।” गत वर्ष असार १७ गते नै मोहना र पथरैया नदीको दोभानमा डल्फिन देखिएका थिए । यस वर्ष मनसुन ढिलो गरी सुरु भएकाले डल्फिन देखिन ढिलाइ भएको डल्फिन संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।
“जिल्लाको दक्षिणी भेगका मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा हरेक बर्खायाममा सहजै मान्छेपछिको चेतनशील प्राणीका रूपमा चिनिने डल्फिन देख्न सकिन्छ”, उनले भने, “यी नदीमा डल्फिन असारदेखि भदौसम्म देखिन्छन्।” स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गाना नदीमा पानीको सतह नघटे असोज महिनासम्म पनि डल्फिन देख्न सकिने बताउँछन् । यहाँ ग्याँगेटिक जातको डल्फिन पाइन्छ ।
यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइन्छ । सरकारले २०२९ सालमा डल्फिनलाई सूचिकृत गरेको थियो । डल्फिन संरक्षणका लागि स्थानीयवासीले डल्फिन संरक्षण समिति गठन गरी प्रचारप्रसार गर्ने गरेका छन् । डल्फिन अवलोकनका लागि स्थानीय बासिन्दासँगै विदेशी पर्यटकसमेत आउने गरेका छन् ।
स्थानीय संरक्षणकर्मी ढुङ्गानाले वर्षमा ४० जनासम्म विदेशी डल्फिन अवलोकनका लागि आउने गरेका बताए । डल्फिनको प्रचारप्रसारका लागि गत वर्ष कैलाली भ्रमण वर्षअन्तर्गत टीकापुर नगरपालिकाले डल्फिन महोत्सव आयोजना गरेको थियो ।
यस वर्ष प्रदेश सरकारको लगानीमा डल्फिन अवलोकनका लागि दृश्यावलोकन स्तम्भ निर्माण भइरहेको छ । सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य डा. रणबहादुर रावल दृश्यावलोकन स्तम्भ निर्माण भइरहेकाले अब डल्फिन अवलोकनका लागि पर्यटकलाई सहज हुुने बताउँछन् । रासस