जिल्ला ट्राफिक कार्यालय बैतडीले १९ लाखभन्दा बढी राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गर्ने तीन हजारभन्दा बढि सवारी साधनबाट रू. १९ लाख ३५ हजार ५०० राजस्व संकलन गरिएको हो ।
चालू आर्थिक वर्षको शुरुदेखि हालसम्म साना ठूला गरी तीन हजार २८२ सवारी साधन कारवाही गरिएको ट्राफिक प्रहरी बैतडीका हल्दार ललित सिंह महराले बताए ।
क्षमताभन्दा वढि यात्रु बोक्ने गाढीका कागजात नबोक्ने र ट्राफिक नियम पालना नगर्ने सवारी साधनलाई कारवाही गरिएको हो ।
चालू आर्थिक वर्षमा बसबाट रू. ४० हजार ५००, ट्रकबाट २ लाख ९८ हजार ५०० जिप, कार, भ्यानबाट ८ लाख २६ हजार ट्याक्टरबाट एक लाख ४७ हजार मोटरसाईकलबाट ४ लाख ५२ हजार ५० अन्यबाट ९ हजार र चैत महीनामा रू. १ लाख ६२ हजार राजस्व संकलन गरेको हो ।
चालू वर्षको शुरुदेखि हालसम्म ३ हजार २८२ साना ठूला सवारी साधनबाट सो राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले बताएको छ ।
बैतडीमा ट्राफिक प्रहरीको ९ जनाको दरबन्दी रहेको छ । जिल्लाका मेलौली, खोचलेक, ढोलेकोमोड, खोडेपे, पाटन र गोठलापानी बजारमा ट्राफिक प्रहरीको आवश्यक्ता भए पनि खोडपे, पाटन र गोठलापानी बजारमा मात्र ट्राफिक प्रहरी रहेका छन् ।
जिल्लाका केही ठाउँ बाहेक सबै ठाउँमा सडक पुगिसकेकाले अहिले प्रत्येक क्षेत्रका सडकमा यातायातका साधनको घुईचो नै देखिन्छ । बैतडीमा चालू वर्षभित्र १४ सवारी साधन दूर्घटना भएर २४ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।
पछिल्लो समय जिल्लाको धेरै ठाउँमा कच्ची सडक पुगेको छ । निर्माण गरिएका कच्ची सडकहरु पनि राम्रोसँग ग्रेड मिलेका छैनन् । धेरै जसो सडकहरु प्राविधिबिना नै ईस्काभेटर चालककै भरमा पनि निर्माण गरिएका छन् ।
यसरी ग्रेड नमिलेका र स्काभेटर चालककै भरमा निर्माण गरिएका सडकमा यातायातका साधन गुडाउनाले पनि दूर्घटना बढेको दसरथचन्द नगरपालिका बैतडीका इन्जिनियर जयसिंह बोहराले बताए ।
आवश्यक्ता भन्दा पनि पहँुचको भरमा सडक निर्माणको लागि बजेट ल्याउने र व्यक्ति अनुकुल सडक निर्माण गर्नाले पनि सडक दूर्घटना बढेको देखिन्छ ।