कैलाली - सुदूरपश्चिमका दुई ठाउमा नेपाली सेनाले स्थापना गरेको सर्पदंश उपचार केन्द्रमा दैनिक बिरामीहरुको भिड बढ्न थालेको छ । स्थानिय नागरिकका लागि सुदूरपश्चिम प्रदेशमा सरकारी सर्पदंश उपचार केन्द्र नभएपछि सेनाले स्थपना गरेको उपचार केन्द्रमा उपचार गराउन जाने सर्पदंशका बिरामीको भिड बढ्न थालेको हो ।
नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहत रहेको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण तथा श्री न. २५ बाहिनी अन्तरगतको कञ्चनपुरको अर्जुनीमा देबीदल गणले सर्पदंश उपचार केन्द्र खोलेको छ । कालीरक्षा गणमा रहेको सर्पदंश उपचार केन्द्रमा स्थापना भए देखी हाल सम्म ५४५ जनाको उपचार गरिएको सो गणका गणपती तथा प्रमुख सेनानी सुरेश थापाले जानकारी दिए ।
उनका अनुसार उक्त उपचार केन्द्रमा २०७३ सम्ममा १ सय ७३ जना जसमा १ सय ७० पूरुष र ३ महिला, २०७४ मा १ सय ६० जना जसमा ६१ पूरुष र ९९ महिला, २०७५ सालमा १ सय ७० जना जसमा ७४ पूरुष र ९६ महिलाको उपचार गरिएको छ । त्यस्तै २०७६ साल असार १९ गते सम्म २७ महिला र १५ पूरुष गरी जम्मा ४२ जनाको उपचार गरिएको छ ।
उता कञ्चनपुरको अर्जुनीमा देबीदलगणमा स्थापना भएको सर्पदंश उपचार केन्द्रमा हालसम्म ७०७ जनाको उपचार गरिएको सो गणका गणपती तथा प्रमुख सेनानी राजु बस्नेतले जानकारी दिए । उनका अनुसार २०७१ सालमा १९ महिला,१८ पूरष गरी ३७ जना, २०७२ सालमा २५ पूरुष र ७७ महिला गरी १०६ जना , २०७३ सालमा २२ पूरुष र ४५ महिला गरी ६७ जना , २०७४ मा ५३ पूरुष र १२० महिला गरी १७२ जना, २०७५ सालमा ४९ पूरुष र १५१ महिला गरी २०० जना र २०७६ असार मसान्त सम्ममा ४१ पूरुष तथा ८४ महिला गरी १२५ जनाको उपचार गरिएको छ ।
सेनाका अस्पतालमा दक्ष चिकित्सक र सर्पदंशका बिरामीका लागि आवश्यक पर्ने एण्टी स्नेक भेनम प्रयाप्त मात्रमा भएका कारणले पनि अहिले बिरामीहरु सेनाकै अस्पतालमा आउने गरेको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुर व्यारेकले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा सरकारी सर्पदंश उपचार केन्द्र नहुदा सर्पदंशका बिरामीले निकै सास्ती खेपीरहेका छन् ।
सर्पदंश उपचार केन्द्र नभएकै कारण कतिपयले समयमै उपचार नपाउदा अकालमै ज्यान समेत गुमाएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा मात्रै कैलाली, बझाङ, अछाम तथा डोटीमा गरी ६ जनाको बिसालु सर्पको टोकाइवाट मृत्यु भैसकेको छ ।